वैदेशिक व्यापार घाटामा १३ प्रतिशतले कमी आएको राष्ट्र बैंकको भनाइ

लोकपथ
13
Shares

काठमाडौं । मुलुकको कुल वैदेशिक व्यापार घाटामा कमी आएको छ । नेपाल राष्ट्र बैंकले आज (बुधवार) सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्बन्धी प्रतिवेदन अनुसार चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा कुल वस्तु व्यापार घाटामा १३ दशमलव एक प्रतिशतले कमी आई तीन खर्ब ५९ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५८ दशमलव तीन प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ ।

समीक्षा अवधिमा निर्यात तथा आयात अनुपात १० दशमलव चार प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १३ दशमलव छ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पछिल्लो अवधिमा कुल वस्तु आयात पनि १६ दशमलव दुई प्रतिशतले घटेर चार खर्ब एक अर्ब रुपैयाँमा सिमित भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६३ दशमलव सात प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४ दशमलव आठ प्रतिशत, १६ दशमलव सात प्रतिशत र १९ दशमलव दुई प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, औषधी, कोइलालगायतका वस्तुको आयात बढे पनि सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट्स, कच्चा सोयाविन तेल, एम.एस. तार, छड, बार, क्वाइललगायतका वस्तुको आयात भने घटेको प्रतिवेदन उल्लेख छ ।

निर्याततर्फसुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, तातोपानी बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा कुल वस्तु निर्यात भने ३५ दशमलव सात प्रतिशतले घटेर ४१ अर्ब ८२ करोड रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात एक सय नौ दशमलव पाँच प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत चीनतर्फ भएको निर्यात क्रमशः ४५ प्रतिशत र ३५ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात पाँच प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, ऊनी, गलैंचा, तयारी पोशाक, चिया लगायतका वस्तुको निर्यात बढेपनि सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?