रुपन्देहीका सुकुम्बासी बस्तीका मतदाताको माग : लालपूर्जा र रोजगारी

लोकपथ
0
Shares

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ मोतीपुरस्थित सुकुम्बासी बस्तीका मतदाताहरुले लालपूर्जा दिन प्रतिबद्ध उम्मेदवारलाई आफूहरुले मतदान गर्ने बताएका छन ।

उनीहरुले रोजगारीको अवसर सृजना गरिदिन पनि राजनीतिक दलका उम्मेदवारहरुसँग आग्रह गरे । खानै नपाउने अवस्था भएकाले आफूहरुलाई रोजगारीको अवसर सृजना गर्नुपर्ने उनीहरुको माग छ । लामो समय बस्दा पनि उनीहरुले लालपूर्जा नभएकाले यो निर्वाचनबाट विजयी हुने सांसदले आफूहरुलाई त्यसको व्यवस्था गर्नुपर्नेमा स्थानीयको जोड छ ।

दिनभर काम गर्दा पनि खान पाउने अवस्था नरहेको पनि त्यहाँका मतदाताको गुनासो छ । उनीहरुले देश भित्रै रोजगारीको अवसर सृजना गरेर जनप्रतिनिधिहरुले आफूलाई राहत दिनुपर्ने बताएका छन । यस क्षेत्रमा सत्तारुढ गठबन्धनको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन् भने विपक्ष एमाले र जनता समाजवादी पार्टीको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरा रहेका छन् । नेताहरुले विगतमा जस्तो चुनावी प्रचार अभियानलाई तीव्रता नदिएको केहीले बताएका छन् । ३/४ वर्ष अघि जस्तो चुनावको प्रचार अभियानले तीव्रता नपाएको स्थानीयले बताएका छन ।

त्यहाँका मतदाताहरुले घर सल्लाह गरेर मतदान गर्ने प्रतिक्रियासमेत दिएका छन् । अब निर्वाचनको लागि मतदान गर्न ४ दिन मात्रै बाँकि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?