६५ सय कामदारको शवमाथि ठडिएका रंगशाला

कतार ठूलो भूल : फिफा पूर्वअध्यक्ष सेप ब्लाटर

आगामी नोभेम्बर २० बाट कतारमा विश्वकप फुटबलको कुम्भमेला सुरु हुँदैछ । तर, रंगशालाको पृष्ठभूमि केलाउँदा चिसो घटना फेला पर्छ । सपना चिहान पनि यही रंगशालामा बनेको छ । त्यसैले भनौं, चिहानले बनेको मैदानमा विश्वका फुटबलरहरु दौडिँदैछन् ।

कतारले देशभर आठ वटा रंगशालालाई प्रविधियुक्त बनाउँदा ६ हजार ५ सय जना आप्रवासी कामदारले ज्यान गुमाएका छन् । यो तथ्यले फिफालाई समेत झस्क्यायो । त्यसो त फिफाका पूर्वअध्यक्ष सेप ब्लाटरले कतारलाई २०२२ विश्वकप गर्न दिनु नै ठूलो भूल भएको प्रतिक्रिया समेत दिए । कतारमा मानव अधिकारका बारेमा उठिरहेको मुद्दालाई उद्धृत गर्दै ब्लाटरले फिफाको भूलमाथि पश्चाताप गरेका हुन् ।

Qatar World Cup stadium workers unpaid: Amnesty | Deccan Herald

ह्युमन राइट्स वाच र एम्नेस्टी इन्टरनेशनल लगायतका मानव अधिकाकार क्षेत्रमा काम गर्ने संस्थाहरुले आधुनिक दासत्वको सीमामा रहेका कामदारहरूका लागि गरिएको भयानक अवस्थाको निन्दा गरेका छन् र, सैयौँ कामदारको मृत्यु रंगशालासँग सम्बन्धित रहेको बताएका छन् ।

साथै, मानव अधिकारका सबालमा कठोर बनेको कतारसँग विभिन्न संघसस्थाहरुले समलैंगिकताको पक्षलाई पनि उजागर गरेका छन् । कतारमा समलिङ्गी यौन क्रियाकलापमा संलग्नलाई सात वर्षको जेलदेखि ढुङ्गाले हानेर मृत्युदण्डसम्मको सजायँको व्यवस्था छ ।

कतारले सार्वजनिक रूपमा अविवाहित साथी वा जोडीहरू एउटै कोठामा बस्न कुनै प्रतिबन्ध नहुने भनेपनि समलैंगिकहरुले होटल बुक गर्न समेत नपाएका समाचारहरु अन्तराष्ट्रिय सञ्चारमाध्यममार्फत बाहिरिएका थिए ।
अहिले विश्वकपको आयोजक राष्ट्र कतारले आप्रवासी कामदारको कार्यक्षेत्रमा देखाएको उदासिनताले भने विश्वलाई फेरि एकपटक झस्काएको छ । यही विश्वकपलाई लक्षित गर्दै कतारले रंगशालाका साथै नयाँ विमानस्थल, मेट्रो प्रणाली, सडक र करिब एक सय नयाँ होटल निर्माण गरेको छ । फाइनल खेल हुने रंगशालाको वरिपरि पूरै सहर बनाइएको छ । कतार सरकारले रंगशाला निर्माणका लागि मात्रै ३० हजार विदेशी कामदार लगाइएको बताएको छ । कामदारहरु धेरैजसो बंगलादेश, भारत, नेपाल र फिलिपिन्सबाट लगिएका हुन् ।

Worker on the Al-Wakra stadium in Qatar

तर, बिडम्बना कतारमा रंगशाला बनाउनका लागि पसिनासँग पैसा साट्न पुगेकाहरु बाकसमा फर्किन बाध्य भए । र, त्यो संख्या रहेको छ, ६ हजार ५ सय । यसरी प्राण त्याग्ने आप्रवासी कामदारहरु नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका हुन् । कतारमा रहेका विभिन्न देशका दूतावासहरूले उपलब्ध गराएको यो तथ्यलाई भने कतारले भ्रामकको संज्ञा दिइरहेको छ । कतार सरकारले सबै मृत्यु विश्वकपसँग सम्बन्धित परियोजनाहरूमा काम गर्ने व्यक्तिहरू नभएको भन्दै बचाउ गरेको छ । साथै, कतार सरकारले मृत्यु भएकामध्ये धेरैले कतारमा धेरै वर्ष काम गरेको र वृद्धावस्था वा अन्य प्राकृतिक कारणले मृत्यु भएको हुनसक्ने उल्लेख गरेको छ ।

विश्वभरका ट्रेड युनियनहरूले कतारले विदेशी कामदारमाथि गरेको व्यवहारको आलोचना गरेका छन् । कतार सरकारले विश्वकप स्टेडियम निर्माणमा २०१४ देखि २०२० सम्म ३७ जनाको मात्रै मृत्यु भएको जनाएको छ । तर, अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले यसलाई कम भएको बताएको छ ।

सन् २०२१ मा मात्रै ५० विदेशी कामदारको मृत्यु भएको र अन्य ५०० भन्दा बढी गम्भीर घाइते भएका छन् भने ३७ हजार ६ सयलाई हल्कादेखि मध्यम चोटपटक लागेको बीबीसी अरबले उधृत गरेको छ ।

सन् २०१० मा कतारले विश्वकप आयोजना गर्ने अधिकार पाएदेखि नै मानवअधिकार समूहहरूले विदेशी कामदारमाथिको व्यवहारको आलोचना गर्दै आएका थिए । २०१६ मा एम्नेस्टी इन्टरनेशनलले कतारी कम्पनीहरूले जबर्जस्ती श्रम प्रयोग गरेको आरोप लगाएको थियो । यसले धेरै कामदारहरू कमजोर आवासमा बस्ने, ठूलो भर्ती शुल्क तिर्न बाध्य पारिएको, पारिश्रमिक रोकिएको र उनीहरूको राहदानी जफत गरिएको गुनासो समेत गरेका थिए ।

Dad says son 'worked to death' on £1 an hour by Qatar World Cup stadium firm - Mirror Online

विदेशी कामदारको अधिकारबारे के भन्छ कतार सरकार ?

आईएलओसँग मिलेर काम गर्दै, कतार सरकारले धेरै सुधारहरू ल्याएको छ । २०१७ देखि कतार सरकारले विदेशी कामदारहरूलाई धेरै तातो मौसममा काम गर्नबाट जोगाउन, तिनीहरूको कामको घण्टा सीमित गर्न र कामदारहरूको शिविरमा अवस्था सुधारका उपायहरु ल्याएको थियो ।
त्यस्तै, रोजगारदाताहरूले आफ्ना कर्मचारीहरूलाई समयमै भुक्तानी सुनिश्चित गर्नसक्ने व्यवस्था मिलायो । कतारका एक सरकारी प्रवक्ताका अनुसार कतारमा अधिकांश विदेशी कामदारहरूको कामको अवस्था सुधार गरिरहेको छ ।

विश्वकपमा सहभागी टिमले के भने ?

फिफाले प्रतिस्पर्धा गर्ने ३२ टोलीलाई अब फुटबलमा ध्यान केन्द्रित गर्नु भन्दै पत्र लेखेको छ । यसले खेललाई वैचारिक वा राजनीतिक लडाईंमा तान्न नहुने पनि पत्रमा समावेश गरिएको थियो । तर जवाफमा, दश युरोपेली फुटबल संघ (इङ्गल्याण्ड र वेल्स सहित) ले मानव अधिकार विश्वव्यापी हो र, सबै ठाउँमा लागू हुनुपर्छ भनेका छन् । अष्ट्रेलियाको फुटबल टोलीले आप्रवासी कामदारलाई दुव्र्यवहार गरेकामा कतारको आलोचना गर्दै एउटा भिडियो सार्वजनिक गरेको छ । डेनमार्कका खेलाडीहरूले कतारले कामदारहरुसँग गरेको व्यवहारको विरोध गर्न सबैले कालो किट लगाउने जनाएको छ ।

2022 World Cup: Denmark to wear 'toned down' jerseys in protest at hosts Qatar - MX24

२० नोभेम्बरबाट सुरु हुने विश्वकपको महाकुम्भ डिसेम्बर १८ सम्म चल्नेछ । करिब एक महिनासम्म चल्ने यस प्रतियोगितामा ३२ टोलीको सहभागिता रहेको छ । पहिलो पटक विश्वकप नोभेम्बर–डिसेम्बरमा खेलाइँदैछ । यसअघि विश्वकप जुन–जुलाईमा हुने गर्दथ्यो । तर, यस पटक कतारको गर्मीका कारण विश्वकप डिसेम्बरमा खेलाउन लागिएको हो ।

यो पनि पढ्नुहोस् : कतार विश्वकप २०२२ : आठ मैदानमा खेलाइँदै, फाइनल लुसेल स्टेडियममा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?