कलेज आइडिया हन्टबाट छानिए उद्यमका उत्कृष्ट चार विचार

लोकपथ
104
Shares

काठमाडौं । कलेज आइडिया हन्ट २०२२ बाट चार विचार उद्यमका लागि छानिएको आइडिया स्टुडियोले जनाएको छ । यो कार्यक्रम सोचदेखि उद्यमसम्म नाराका साथ विगत आठ वर्षदेखि सञ्चालन हुँदै आएको छ ।

कलेज आइडिया हन्टमा देशभरका चार सय कलेजबाट उद्यमको सोच प्राप्त भएको आयोजका संस्थाका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले बताए । प्राप्त भएको विचारमध्ये २० विचारलाई १५ दिनको मार्गनिर्देश गरिएको थियो । छनोट भएका २० विचारलाई मार्गनिर्देशपछि १० उत्कृष्ट विचारलाई अन्तिम प्रक्रियाको लागि छनोट गरिएको थियो ।

कलेज आइडिया हन्ट २०२२ मा प्राप्त उत्कृष्ट १० आइडियामध्ये उत्कृष्ट चार विजेता छनोेट गरिएको उनले बताए । छनोट गरिएका चार उत्कृष्ट उद्यम विचारमा बायो ग्रीन, वी फर नेचर, आहा बेङ्गलस्, मेहेनती डटकम छन् । कलेज आइडिया हन्टका चारै विजेतालाई रु एक लाख नगद पुरस्कार प्रदान गरिएको थियो ।

कलेज आइडिया हन्ट २०२२ का सबै विजेता आइडिया स्टुडियो सिजन–७ मा स्वतः सहभागी हुन पाउने पनि आइडिया स्टुडियोले जनाएको छ । आइडिया स्टुडियो सिजन–७ मा सहभागी हुन चाहने इच्छुक व्यक्तिले कात्तिक २९ गतेदेखि २०७९ पुस १७ गतेसम्ममा आवेदन दिइसक्नु पर्नेछ ।

आवेदकले आवेदनको प्रक्रिया, योग्यता तथा भिडियो निर्देशनका लागि https;|/ideastudio.org.np मा गएर हेर्न र आफ्नो आइडिया पठाउन सक्ने जनाइएको छ । आइडिया स्टुडियो नेपालले २०२२ नोभेम्बर १५ मा ‘आइडिया स्टुडियो सिजन–७’ का लागि आवेदन खुला गरेको हो ।

आइडिया स्टुडियो नेपाल सिजन–६ सम्म चार सय ५० भन्दा बढी नवीन विचारको आवेदन प्राप्त भएको थियो । त्यसमध्ये तीन सय ५० भन्दा बढी व्यवसाय सुरु भइसकेका छन् । आइडिया स्टुडियो नेपालबाट सुरु भएका व्यवसायमध्ये ६५ भन्दा बढी व्यवसाय सफलतापूर्वक सञ्चालनमा रहेको जनाइएको छ ।

आइडिया स्टुडियो नेपालले हरेक सिजनमा नेपाली उत्पादनलाई प्रवद्र्धन गर्ने, सामाजिक रुपान्तरणमा योगदान गर्ने, प्रविधिसम्बद्ध तथा हरियाली र पर्यावरण प्रवद्र्धन गर्ने व्यावसायिक विचारलाई विशेष प्राथमिकता दिँदै ती विचारलाई उत्कृष्ट बनाउन सरसल्लाह, व्यावसायिक सञ्जाल, मार्गनिर्देश, रियालिटी टिभी सो साथसाथै वित्तीय पहुँचका लागि सहजीकरण गराउन मद्दत गर्दै आएको छ ।

हालसम्म आइडिया स्टुडियोले विभिन्न कार्यक्रमबाट देशको सातवटै प्रदेशमा १६ देखि ६७ वर्ष उमेर समूहका व्यक्तिको सहभागिता जुटाउन सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?