उपभोग्य वस्तुको मूल्य १५ प्रतिशत बढीले वृद्धि

लोकपथ
56
Shares

काठमाडौं । चुनावको मौका छोपेर बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिएसँगै बजारमा हरेक उपभोग्य वस्तुको मूल्य १५ प्रतिशत भन्दा बढीले बढेको हो ।

सरकारको सम्पूर्ण ध्यान मंसिर ४ गतेको निर्वाचन केन्द्रित हुँदा उपभोक्ता भने बजारमा अत्याधिक रुपमा बढेको मूल्य वृद्धिको मारमा परेका छन् । सरकारका बजार नियमनकारी निकायका कर्मचारीहरु समेत निर्वाचनमा केन्द्रित भएको मौका छोपी व्यापारीले आफूखुशी मूल्य तोक्न लागेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्यले दशैँ–तिहारपछि मात्रै दैनिक उपभोग्यका लागि आवश्यक पर्ने हरेक वस्तुको मूल्य १५ प्रतिशतले बढेको बताए । उनले पछिल्लो समय खाने तेल, दाल, चामल मात्रै होइन नभएर हरेक खाद्यान्न लगायत अन्य वस्तुको समेत मूल्य बढेर आएको बताए ।

पूर्वअध्यक्ष बज्राचार्यले पछिल्लो एक वर्षमा ३० प्रतिशत भन्दा बढी मूल्य वृद्धि भएको बताए । उनले दशैँ—तिहारको समयमा २४० रुपैयाँमा पर्ने थालेको खानेतेल अहिले बजारमा २८० रुपैयाँ पुगेको जानकारी दिए । उनले सनफ्लावर, भटमास तथा तोरीको तेलमा प्रतिलिटर ४० रुपैयाँले मूल्य बढेको बताए । उनले भारत सरकारले नेपालमा चामल आयातमा प्रतिबन्ध लगाएपछि मात्रै एक बोरा चामलमा ४०० रुपैयाँसम्म बढेको बताए । उनले भारतले धान निर्यातमा यसअघि लगाएको २० प्रतिशत कर १५–२० दिन पहिले नै हटाइ र चामलको मूल्य घटेर आएपनि नेपाली चामल मिलवालाले भने अहिलेसम्म पुरानो मौज्दात भन्दै अझै महँगोमा चामल बिक्री गरिरहेको बताए ।

बज्राचार्यले बजारमा उपभोग्य वस्तुको मूल्य बढ्नुको कुनै कारण नभएर ठूला व्यापारीहरुले चुनावमा पार्टीहरुलाई दिएको चन्दा असुल गर्न निर्वाचनकै अवसरमा वस्तुको मूल्य वृद्धि गरेको आरोप लगाए । उनले निर्वाचनको समयमा सरकारी कर्मचारी निर्वाचन केन्द्रित भएको मौकामा बजारमा उपभोग्य वस्तुको मूल्य बढाउनु अस्वाभाविक भएको बताए । उनले सरकारले उपभोक्ताको हीतमा चासो नराखेको भन्दै चिन्ता व्यक्त गरे ।

बज्राचार्यले उपभोक्ताहरुको हीतमा काम गर्ने हो भने बजारमा भएको अत्याधिक मूल्य वृद्धि सरकारले नियन्त्रण गर्ने बताए । उनले अनुगमन गर्ने निकाय उपाभोक्ता हीत संरक्षण विभाग बजारमा कुनै वस्तुको मूल्य वृद्धि भए खुद्रा पसलमा गएर अनुगमन गर्ने तर ठूला व्यापारीहरुकोमा अनुगमन गर्न जान नसक्दा बजारमा मूल्य वृद्धि भइरहने बताए ।

उनले भने,‘बजारमा खाद्यान्न लगायतका वस्तुको समस्या छैन । बजारमा सबै सामान उपलब्ध छ । तर वस्तुको मूल्य वृद्धि भने धेरै भएको अवस्था छ । पछिल्लो एक वर्षको तुलनामा बजार मूल्य धेरै फरक रहेको छ । एक वर्ष अगाडि १०० रुपैयाँमा पाउने सामानको मूल्य अहिले बढेर १३० बढी पुगेको छ । २५ देखि ३० प्रतिशतले मूल्य वृद्धि भएको पाउँछौं । दशैँ तिहारपछि मात्रै पनि १५ प्रतिशत सम्म मूल्य वृद्धि भएको छ । दशैँको समयमा खानेतेलको मूल्य कम भएर आएकोमा अहिले पुनः बजारमा मूल्य बढेको छ । दशैँ तिहारको समयमा २४० रुपैयाँमा पर्ने थालेको सनफ्लावर तेल अहिले बजारमा २८० रुपैयाँ पुगेको छ । यसरी एक लिटर तेलको ४० रुपैयाँले मूल्य बढेको देखिएको छ भने भटमास र तोरीको तेलमा पनि प्रतिलिटर ४० रुपैयाँ नै बढेको छ । भारत सरकारले नेपालमा चामल आयातमा प्रतिवन्ध लगाएपछि एक बोरा चामलमा ४०० रुपैयाँसम्म बढेको छ । अहिले आयात खुला गरेपछि केही सस्तो भएर आएको छ । तर बजारमा मूल्य घटेको पाइँदैन । बजारमा मूल्य वृद्धि हुनु एक जना रिटेलमा सामान बेच्ने व्यापारीको कुनै हात हुँदैन । अहिले सबै सामानमा एमआरपी प्रिन्ट भएर आएको हुन्छ । त्यो भन्दा माथि गएर बेच्न सक्दैन । बजारमा वस्तुको मूल्य बढ्नुमा आयातकर्ता वा उत्पादक हुन्छ । अहिले जसरी बजारमा वस्तुको मूल्य बढेको छ त्यो अस्वाभाविक हो । अहिले मूल्य बढ्नुको कारण युक्रेन र रुसको युद्ध पनि होइन । डलरको मूल्य बढेर पनि होइन । चुनावको लागि ठूला व्यापारीहरुको खर्च र पार्टीहरुलाई चन्दा दिन्छ । चन्दा असुल्नको लागि पनि ठूला व्यापारीहरुले आफ्नो उत्पादनको मूल्य बढाएको देखिन्छ । अहिले तेलको मूल्य बढ्यो तेलको मूल्य बढ्नुपर्ने कारण छैन । निर्वाचनको समय बनाएर सरकारले बजार अनुगमन पनि नगर्ने देखेर चुनावको अवसरमा फाइदा लिनको लागि खाद्य वस्तुको मूल्य बढाएका छन् । सरकारले उपभोक्ताको हीतमा चासो राखेको छैन । सरकारले उपभोक्ताहरुको हीतमा काम गर्ने हो भने बजारमा अत्याधिक रुपमा बढेको मूल्य वृद्धि नियन्त्रण गर्नुपर्छ । अनुगमन गर्ने निकाय बजारमा कुनै वस्तुको मूल्य वृद्धि भए उपाभोक्ता हीत संरक्षण विभागले खुद्रा पसलमा गएर अनुगमन गर्छ । सरकार ठूला व्यापारीहरुकामा अनुगमन गर्न जान सक्दैन । जसले मुल्य वृद्धि गर्छ उसलाई अनुगमन गर्नसक्दा बजारमा मूल्य वृद्धि हुनु स्वाभाविक भयो ।’

त्यस्तै, कुलेश्वरका खाद्यसामग्री होलसल व्यापारी मनोज श्रेष्ठले खानेतेल,दाल चामलको मूल्य बढेर नै आएको बताए । उनले भारतले नेपालमा धान निर्यातमा यसअघि लगाएको २० प्रतिशत करको कारणले चामलको मूल्य धेरै बढेको बताए । उनले डलरको मूल्य बढेकाले बजारमा खानेतेलको मूल्य वृद्धि भएर आएको बताए । श्रेष्ठले बाहिरबाट नै वस्तुको मूल्य बढेर आएकाले बजारमा बेच्नलाई समेत समस्या भएको बताए ।

कुलेश्वमा खाद्यन्न किन्न आउनुभएकी विष्णु प्रधानले दाल चामल तथा तेलको मूल्य वृद्धि अत्याधिक बढेर सामान किन्न नसक्ने अवस्था भएको गुनासो गरे । उनले भारतले चामलमा लगाएको कर घटाएको भनिए पनि व्यापारीहरुले मूल्य नघटाएको बताए ।

उनले सरकार निर्वाचनमा मात्रै नभएर उपभोक्ताले प्रयोग गर्ने उपभोग्य वस्तुको मूल्यको विषयमा पनि बजार अनुगमनमा ध्यान दिनुपर्ने बताए । बजारमा व्यापारीहरुले भारतबाट आउने चामलको मात्रै मूल्य बढेको तर नेपाली चामलको मूल्य घटेर आएको बताएका छन् । तर बजारमा उपभोक्ताहरुले दैनिक रुपमा प्रयोग गर्ने उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा दिनभर काम गरेर बिहान बेलुका दुई छाक टार्नेहरु मारमा परेका छन् । सरकारले समयमा नै बजार मूल्य नियन्त्रणका लागि बजार अनुगमन गर्नुपर्ने आवश्यक देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?