ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता पत्रमा हस्ताक्षर

लोकपथ
52
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच एक आपसमा गाभिनको लागि सोमबार अन्तिम समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

दुई बैंकको मर्जरका लागि मूल्याङ्कनकर्ताबाट प्राप्त चलरअचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १ः१ दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरेका छन् । मर्जर पश्चात बैंकको कूल पुँजी ५७ अर्ब र चुक्ता पूँजी ३५ अर्ब ७७ करोड पुग्ने बैंकका अधिकारीहरूले बताएका छन् ।

बैंकको कूल निक्षेप ४ खर्ब र कूल कर्जा ३ खर्ब ७९ अर्बभन्दा बढि हुने बताइएको छ । मर्जरपछि बन्ने नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ । नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट दुई जना रहनेछन् ।

त्यसैगरी, बैंकको प्रमुख कार्यकारी अधिकृतमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नै निरन्तरता पाउने भएका छन् । दुई बैंकहरुको मर्जर पश्चात ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशस्थित सम्पर्क कार्यालयहरु रहने छन् । बैंकको ४० लाखभन्दा बढी ग्राहक हुने बैंकका अधिकारीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?