काठमाडौं । यौनिक तथा अल्पसंख्यक व्यक्तिहरुलाई विवाह गर्ने अधिकारबाट वञ्चित गर्नु नहुने नेपाल ल क्याम्पसकी उपप्राध्यापकसमेत रहेकी अधिवक्ता विष्णु बस्यालले बताएकी छिन् । संविधानमा महिला र पुरुषबीच मात्रै विवाह गर्ने कुरा उल्लेख गरिएकाले यौनिक तथा अल्पसंख्यक व्यक्तिहरुलाई विवाह गर्ने अधिकारबाट वञ्चित गर्न नहुने उनले बताइन् ।
अधिवक्ता बस्यालले राजनीतिक दलहरुले चुनावी घोषणापत्रमा यौनिक तथा अल्पसंख्यक व्यक्तिहरुको पक्षका बुँदाहरु विभिन्न तरिकाबाट समेट्ने गरेपनि कार्यान्वयन गर्ने बेलामा हात कमाउने गरेको बताइन् । उनले राज्यबाट दिने सेवा,सुविधामा पनि यौनिक तथा अल्पसंख्यक व्यक्तिहरुलाई समान अवसर दिनुपर्ने बताएकी हुन् । उनले कानुन (ड्राफ्ट) बनाउँदा व्यक्ति–व्यक्तिबीच विवाह गर्नेकुरा उल्लेख गरेर पठाएपनि कानुन पास गर्दा भने महिला र पुरुषबीच मात्रै विवाह गर्ने उल्लेख हुँदा यौनिक तथा अल्पसंख्यक व्यक्तिहरु विवाह गर्ने, घर बसाउने र परिवार बनाउने अधिकारबाट नै कानुनले वञ्चित गरेको बताइन् ।
अधिवक्ता बस्यालले नेपालको वर्तमान कानुनले ती वर्गलाई विवाह गर्ने अधिकारबाट वञ्चित गरेकाले आगामी दिनमा कानून निर्माण गर्दा समानताको आधारमा बनाइनुपर्ने बताइन् । यौनिक तथा अल्पसंख्यक व्यक्तिको विवाहको अधिकारलाई सुनिश्चित गर्न सर्वोच्च अदालतले विगतमा गरिसकेको सिद्धान्त प्रतिपादनको आधारमा कानुन बन्नुपर्ने आवश्यक्ता औंल्याइन् । उनले चुनावको बेला र राजनीतिक दलका नेतृत्वहरुको भाषणमा यौनिक तथा अल्पसंख्यकका विवाहका कुरा समेट्ने गरेपनि चुनाव जितेर कार्यान्वयन गर्ने तहमा पुग्दा चासो नदिने गरेको बताइन् । उनले कानून निर्माण गर्दा सबै पक्षलाई समानरुपमा हेर्नुपर्ने उल्लेख भएअनुसार कानून निर्माण गर्ने व्यक्तिहरुले नै कार्यान्वयन गर्न हिच्किचाएको जानकारी दिइन् ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रदेश सभातर्फ अल्पसंख्यक व्यक्तिहरुको उम्मेदवारी एउटा मात्रै परेको छ । अल्पसंख्यकमा नेपाल जनता पार्टीबाट सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभातर्फ २ मा महेन्द्र साह तेलीले उम्मेदवारी दिएका छन् । त्यस्तै, आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मत हाल्ने यौनिक तथा अल्पसंख्यक व्यक्तिहरुको संख्या १ सय ८५ रहेको छ । यस पटकको निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० जना कुल मतदाता रहेका छन् । जसमा ८८ लाख ४७ हजार ५ सय ७९ महिला र ९१ लाख ४० हजार ८ सय ६ जना पुरुष मतदाता रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया