बिदुर । अहिले नुवाकोट निर्वाचन क्षेत्र नम्वर २ को प्रदेश ‘ख’ अन्तर्गत र विगतमा निर्वाचन क्षेत्र नम्वर ३ मा रहेको मनकामना, फिकुरी, काहुले, साल्मे र भाल्चे समेटिएर बनेको किस्पाङ गाउँपालिकाका नागरिकमा आईतवार बेग्लै प्रकारको खुशी देखिन्थ्यो ।
यस क्षेत्रको विकास क्रमको सुरुवात गर्ने अर्जुननरसिंह केसी र त्यसलाई तिब्रता दिने बहादुरसिंह लामा सधै सँगै रहेर विकासलाई मूर्तता दिउन भन्ने स्थानीयको चाहना भएपनि त्यसले सार्थकता पाईरहेको थिएन् । तर एउटै पार्टीका केन्द्रीय स्तरका नेता भएर पनि उक्त क्षेत्रको कार्यक्रममा बिरलै सँगै देखिने केसी र लामा कार्यक्रममा सँगै उपस्थित मात्र भएनन्, एक अर्काको राजनीतिक उन्नयन र यस क्षेत्रको विकासमा संयुक्त प्रयास गर्ने उद्घोष एउटै मञ्चबाट गर्दा नागरिकहरुले तालीको गडगडाहटबाट केसी र लामाको संयुक्त उपस्थितीको स्वागत गरेका थिए ।
त्यसो त, विगतमा तिक्ततापूर्ण सम्बन्धमा रहेका कांग्रेस र माओवादीका नेताहरुले लालसलाम र जयनेपाल भन्दै एक अर्काको प्रशंशा गर्नु, केसी र महतसँगै रहनु अनि अपवादको रुपमा स्थानीय तहमा गठबन्धन हुन नसकेको किस्पाङका दुबै पार्टीका नेता कार्यकर्ताहरुले कार्यक्रममा उपस्थित हुन संयुक्त अपील गर्नुले पनि आईतवार किस्पाङको केन्द्र दावाचेत बजारमा मानवसागर ओर्लिएको बिश्लेषणसमेत गरिएको थियो ।
तामाङ जातीहरुको बाहुल्यता रहेको किस्पाङको कार्यक्रममा सबै जाती र उमेरसमूहका मानिसहरुको उत्तिकै उपस्थिती रहेको थियो । धेरै अघिदेखि केसीको पक्षमा मतदान गर्दे आएका र उम्मेदवारीका कारण पछि लामालाई सघाएपनि दुबै सँगै रहुन भन्ने चाहना राखेका धेरै बुढापाकाहरु मानेगाउँ, ताजी र भाल्चेबेसीबाट हिडैरै आईपुगेको सुनाईरहेका थिए । समग्रमा नुवाकोटको २ नम्बर क्षेत्रको प्रतिस्पर्धामा रहेका अन्य पार्टीहरुको कार्यक्रमहरुमा देखिएको न्यून उपस्थिती तथा गठबन्धनको शनिवार कुमरी र आईतवार किस्पाङमा आयोजित कार्यक्रमपछि यस क्षेत्रमा गठबन्धनको जित सुनिश्चित भईसकेको स्थानीय कांग्रेस नेता देबनाथ भट्टको भनाइ छ ।
कार्यक्रममा काग्रेस प्रतिनिधिसभा सदस्य उम्मेदवार अर्जुननरसिंह केसी र प्रदेशसभा सदस्य उम्मेदवार बहादुरसिंह लामाले आफूहरुमा कुनै पनि प्रकारको तिक्तता नरहेको र आफूहरुलाई एकअर्काको परिपुरकका रुपमा हेर्न आग्रह गर्दे यहाँको समग्र विकास र नागरिकहरुको समस्या समाधानमा कुनै पनि प्रकारको कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । सो क्रममा संबिधानसभा सदस्य एवं कांग्रेस नेता जगदीश्वरनरसिंह केसीले नुवाकोट २ बाट प्रतिगमन पराश्त भईसकेकाले एमाले र अन्य पार्टीमा रहेकाहरुलाई पनि गठबन्धनलाई मतदान गरेर विकासको एकीकृत प्रयासमा सहभागी हुन आव्हान गरेका थिए ।
त्यसक्रममा माओवादी नेताहरु हिरानाथ खतिवडा, राममाया बोगटी, मीना वाईवा, राजकुमार रेग्मी तथा कांग्रेस नेताहरु धु्रव अधिकारी, रामेश्वर उपाध्याय, चोकराज शाक्य, जगतबहादुर तामाङ, छत्र लामा, क्षेत्रबहादुर घले, रणबहादुर तामाङ लगायतले आगामी निर्वाचन र गठबन्धनको रणनीतिहरुका बारेमा आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया