आसत्र निर्वाचनले हाम्रा सन्ततिको भविष्य निर्माण गर्नेछ : डा.शेखर कोइराला

लोकपथ
52
Shares

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले आसन्न निर्वाचनले नेपाली सन्ततिको भविष्य निर्माण गर्ने बताएका छन् । पार्टीको महानगर समितिद्वारा आज साँझ विराटनगरमा आयोजित ‘समसामयिक आर्थिक अवस्था र नेपाली राजनीति’ विषयक अन्तरक्रियामा उनले सन्तानको स्वर्णिम भविष्य निर्माण गर्न गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

नेता कोइरालाले मुलुकमा सुशासन, पारदर्शी र जवाफदेहिता कायम गरी सङ्घीय गणतन्त्रलाई स्थायित्व प्रदान गर्न गठबन्धन दलका उम्मेदवारलाई छान्नुपर्नेमा जोड दिए । उनले भने, ‘मुलुकलाई समृद्धि कायम र रोजगारी सिर्जना गर्ने उम्मेदवार छान्न आवश्यक रहेको छ ।’

राष्ट्रिय सभाका सदस्य रमेशजङ्ग रायमाझीले जनताको विकासको चाहना पूरा गर्नका लागि गठबन्धनका दलका उम्मेदवारको विजयी सुनिश्चित गर्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.गोविन्दराज पोखरेलले मुलुकमा उद्योग व्यवसाय स्थापनामा बाधा उत्पन्न हुने कानुन एवं नीति परिवर्तन गर्न आवश्यक रहेको धारणा राखे ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.स्वर्णिम वाग्लेले नेपाली कांग्रेसले आफ्नो सङ्कल्पपत्रमा स्रोतको सुनिश्चितता कायम गरी पूरा गर्न सक्ने योजना राखेको विश्वास दिलाए । नेपाली कांग्रेस नगर सभापति दीपक चापागाइँ, उपसभापति निरज कोइराला र पूर्वमुख्य सचिव विमल कोइरालाले लोकतन्त्रको लाभांश गरिव एवं पिछडिएका जनताले उपयोग गर्न पाउनुपर्ने विचार राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?