बारामा राजनीतिक दलसँगै स्वतन्त्र उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा

लोकपथ
0
Shares

बारा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बारा निर्वाचन क्षेत्र नं २ बाट राजनीतिक दल र स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने भएको छ । बारा निर्वाचन क्षेत्र नं २ मा पुरुष ५८ हजार सात सय ४२ र महिला ४६ हजार दुई सय ६९ मतदाता छन् ।

जिल्लामा ८२ मतदानस्थल र एक सय ३६ मतदान केन्द्रको व्यवस्था गरिएको छ । राजनीतिक दलबाट ११ जनासहित २२ उम्मेदवार चुुनावी मैदानमा छन् । राजनीतिक दलबाट जसपाका रामसहायप्रसाद यादव, नेकपा (माओवादी केन्द्र) का शिवचन्द्र कुशवाहा तथा स्वतन्त्र रवीन्द्रप्रसाद यादव र रामकिशोर यादवबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

यी चारै उम्मेदवारको मतदाताबीच राम्रो पकड छ । प्रदेशसभा (क) मा राजनीतिक दलबाट छ र स्वतन्त्रबाट सात उम्मेदवार चुनावी मैदानमा छन् । एमालेका बलवीरप्रसाद चौधरी, लोकतान्त्रिक समाजवादीका मोतीलाल प्रसाद र स्वतन्त्रका शारदाशङ्करप्रसाद कलवारबीच कडा प्रतिस्पर्धा हुने बताइन्छ ।

बलवीरप्रसाद यसअघि संविधानसभा सदस्य भइ सकेका छन् । सारदाशङ्कर २०७४ प्रदेशसभा निर्वाचनमा विजयी भएका थिए । यस क्षेत्रमा महिला २३ हजार पाँच सय ७४ र पुरुष २८ हजार आठ सय २९ मतदाता छन् । यहाँ ४२ मतदानस्थलमा ६९ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

यसैगरी प्रदेशसभा (ख) मा राजनीतिक दलका छ र स्वतन्त्र नौ गरी १५ उम्मेदवार छन् । जसपाका बच्चा राउत अहिर, कांग्रेसका रामअयोध्याप्रसाद यादव र जनमत पार्टीका गजानन्दप्रसाद यादवबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । अहिर २०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

यस क्षेत्रमा पुरुष २९ हजार नौ सय १३ र महिला २२ हजार छ सय ९५ मतदाता छन् । यहाँ ४० मतदानस्थलमा ६७ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?