मनाङ । हिमाली जिल्ला मनाङमा जाडो बढ्दै गएको छ । यहाँ जाडो याममा बस्न प्रतिकूल हुन्छ । त्यसैले मनाङबासी जाडो छल्न बेसी झर्ने गर्दछन् । तर, यसपटक भने मनाङबासी जाडो छल्न बेसी झर्ने बेलामा जिल्ला भित्रिँदै छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनाङबासी मतदान गर्न जिल्ला फर्किने क्रममा छन् ।
मनाङमा चिसो बढ्न थालेपछि मनाङी काठमाडौं, पोखरालगायत स्थानमा जाने अवस्थामा जिल्ला फर्किने क्रममा रहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । ‘मनाङबासी मतदान गर्न यहाँ फर्किँदैछन्’, उनले भने । कात्तिक मध्यबाट जिल्लाबासी जाडो छल्न बेँसी जाने समयमा निर्वाचन भएपछि जिल्ला आउने क्रममा रहेका हुन् । हिउँ पर्ने समय भएको छ ।
खानेपानी नै जम्ने अवस्थामा छ । तर, निर्वाचनले जिल्लाबासीलाई यहाँ आउन बाध्य बनाएको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको मनाङमा उम्मेदवारले निर्वाचनको प्रचारप्रसारलाई तीव्र पारिरहेको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए । यहाँको मौसम जुनसुकै बेला प्रतिकूल हुनसक्ने भएकाले सुरक्षित व्यवस्थापन गरिएको उनले बताए ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि मतपत्र र ६१ प्रकारका सामग्री जिल्लामा आइसकेको शर्माले बताए । ‘प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र र सामग्री मतदान केन्द्रमा पठाउनका लागि सटिङको काम भइरहेको छ । मंसिर १ गतेभित्र प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र मतपत्रसहित पठाउनेछौँ’, उनले भने ।
प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङ र नेकपा (एमाले) का पाल्तेन छोपाङ गुरुङ चुनावी मैदानमा छन् । कांग्रेसको तर्फबाट प्रदेश ‘क’ मा मुनिन्द्रजङ्ग गुरुङ र राजन गुरुङ चुनावी प्रतिस्पर्धामा छन् । यसअघि नै प्रदेश ‘ख’ मा राजीव गुरुङ सर्वसम्मत निर्वाचित भइसक्नुभएको छ ।
निर्वाचनमा जित हासिल गर्नका लागि घरदैलोमा पुगेर उम्मेदवार मतदातालाई रिझाउन व्यस्त छन् ।मनाङमा ३ हजार २८१ पुरुष र ३ हजार ४९८ महिला गरी ६ हजार ७७९ मतदाता छन् । नासोँ गाउँपालिकामा १ हजार ८४७, चामेमा सात सय ७७, मनाङ ङिस्याङमा ३ हजार ६८७ र नार्पाभूमिमा चार सय ६८ मतदाता छन् ।
जिल्लामा कैदीबन्दीका लागि एक अस्थायी मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अस्थायी मतादन केन्द्रसहित जिल्लामा २९ मतदान केन्द्र छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया