बागलुङका ६ वटै सिट गठबन्धनले जित्छ : मन्त्री पौडेल

लोकपथ
104
Shares

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङकै नागरिकलाई पाहुना भनेको शब्दप्रति आक्रोश व्यक्त गरेका छन् । बुधवार तमानखोला गाउँपालिकामा भएको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले नेकपा एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै नागरिकमा भ्रम छर्नका लागि आफूलाई पाहुना भनको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

“म यहीँ जिल्लाको माटोमा जन्मिएर यहीँ ठाउँको विकासका लागि ज्यान दिए लागेको मान्छे हुँ । झापाका ओलीले पाहुना भन्नु एमालेको हारको मानसिकता हो” उनले भने । केही दिन अघि नेकपा एमालेको चुनावी सभालाई सम्बोधन गर्न बुर्तिबाङ आएका नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा सदस्यका उम्मेदवारलाई पाहुनाको संज्ञा दिएका थिए ।

पौडेलले बागलुङका ६ वटै सिट गठबन्धनले जित्ने दाबीसमेत गरेका छन् । “बागलुङका ८५ वडाहरुमध्ये गठबन्धनले ७० वडाहरुमा जित हासिल गरेको छ, उनले भने, यहीँ आँकडाले पनि गठबन्धनको जित भइसक्यो, औपचारिकताका लागि आम नागरिकले निर्वाचन मिति पर्खनुपरेको हो ।”

उनले आगामी निर्वाचनपछि संघ र प्रदेशमा गठबन्धनको सरकार बन्ने बताएका छन् । समावेशी समानुपातिक पहुँच र प्रतिनिधित्व प्रणाली ल्याउन शहिदहरुको बलिदान रहेको बताउँदै यसको रक्षाका लागि पाँच दलीय गठबन्धन भएको मन्त्री पौडेलको भनाइ छ ।

उनले संविधानमा उल्लेख भएका जनताका अधिकारहरु तोडमोड गर्ने विरुद्धमा उभिन नेता कार्यकर्तालाई आग्रह गर्दै अहिलेको गठबन्धन इतिहासको आवश्यकता भएको र अहिलेको गठबन्धन रहरमा नभइ इतिहासको आवश्यकता भएको बताएका हुन् ।

कार्यक्रममा संविधान सभा सदस्य निरज पुनले बागलुङ क्षेत्र नम्बर २ (क) का उम्मेदवार देवेन्द्र पौडेल र एमाले उम्मेदवारबीच तुलना हुन नसक्ने टिप्पणी गरेका छन् । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले जिते मात्र संविधान रक्षाका र बागलुङ विकास हुने बताउँदै विपक्षी उम्मेदवारसँग तुलना हुनै नसकिने ठोकुवा पुनले गरेका छन् । कार्यक्रममा प्रदेश सभा (ख) का साझा उम्मेदवार दोर्ण कुँवरले बागलुङको विकासका लागि गठबन्धनका साझा उम्मेदवारलाई निर्वाचित गराउनुपर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?