४५ औं ईफाप्का सम्मेलनमा भाग लिन महासंघ प्रतिनिधिमण्डल माले प्रस्थान

लोकपथ
39
Shares

काठमाडौं । एशियाली तथा पश्चिमी प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय संगठन, ईफाप्काको ४५ औं सम्मेलनमा भाग लिन नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डल विहिवार माल्दिभ्स्को राजधानी माले प्रस्थान गरेको छ । महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा रहेको ६४ सदस्यीय प्रतिनिधिमण्डल माले प्रस्थान गरेको हो ।

प्रतिनिधिमण्डलमा महासंघका पूर्व अध्यक्ष, पदाधिकारीहरू, कार्य समिति सदस्यहरू र अन्य निर्माण व्यवसायीहरू रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघ प्रतिनिधिमण्डललाई महासंघका कार्यवाहक महासचिव नरहरि थपलिया, कोषाध्यक्ष हिरणकुमार श्रेष्ठलगायतले बिदाई गरे ।

सम्मेलनको समाप्तीसँगै ईफाप्का अध्यक्षको कार्यभार नेपालले सम्हाल्ने र ४६ औं सम्मेलन पनि अर्को वर्ष काठमाडौंमा हुने भएकाले माले सम्मेलन नेपालका लागि महत्वपूर्ण भएको अध्यक्ष सिंहले बताए । ‘संरक्षण सहित निर्माण—अझ सुन्दर विश्व बनाऔं’ भन्ने नारा सहित ४५ औं ईफाप्का सम्मेलन पश्चात् नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले ईफाप्का अध्यक्षको कार्यभार सम्हाल्ने छन् ।

त्यस्तै, महासचिवको भूमिकामा महासंघका सल्लाहकार विरेन्द्र पाण्डे रहने छन् । ४६ औं ईफाप्का सम्मेलन अबको १२ देखि १८ महिना भित्रमा ‘दिगो पूर्वाधारमा साझेदारी’ भन्ने नारासहित काठमाडौंमा आयोजना हुँदैछ । सन् १९५६ मा स्थापना भएको ईफाप्कामा हाल नेपाल निर्माण व्यवसायी महासंघ सहित सहित १९ राष्ट्रका निर्माण संगठनहरू आबद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?