कैलाली । नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले यसपालिको चुनावमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई हराउने दाबी गरेका छन् ।
शेरबहादुर देउवाले पटक–पटक चुनाव जितेर प्रधानमन्त्री बने पनि त्यो देश, डडेलधुराका जनता, मतदाता र कार्यकर्ताप्रति भन्दा वंश र अंशमा दाबी गर्नेका लागि भएको मल्लको आरोप छ । यिनै कारणहरुका विरुद्धमा जनता रहेकाले आफू चुनाव जित्ने दाबी उनले गरेका छन् ।
चुनावी चटारोका समयमा हामीले नेता मल्ललाई तपाईले जित्छु भन्ने आधार के–के हुन् ? भनेर सोधेका छौँ । प्रस्तुत छ, समसामयिक विषयमा केन्द्रित रहेर लोकपथकर्मी गोविन्द बीसीले डडेलधुराबाट प्रतिनिधिसभाका सदस्यका प्रत्यासी कर्णबहादुर मल्लसँग गरेको कुराकानीको सम्पादित अंश :
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएको छ । नेपालको राजनीतिक इतिहासमा सातौँपटक यो संसदीय आम निर्वाचन हुन लागेको छ, यहाँले यो निर्वाचनलाई कसरी हेर्नु भएको छ ?
आगामी मंसिर ४ गते हुने निर्वाचनमा सही जनप्रतिनिधिहरु चयन गर्न सकिएन भने यो मुलुक राजनीतिक, आर्थिक र सामाजिक रुपमा धेरै ठूलो दुर्घटनामा जाने सम्भावना छ । त्यसैले, यो निर्वाचनको धेरै ठूलो ऐतिहासिक महत्व छ । देशका लागि र देशबासीको सम्वृद्धिका निम्ति, मैले यसलाई यही ढंगले लिएको छु ।
यिनै कुरा बुझाउन म निरन्तर यहाँका मतदाताहरुको घरदैलोमा गइरहेको छु । हरेक मतदातालाई व्यक्तिगत रुपमा यी कुराहरुलाई लिएर निवेदन गरिरहेको छु ।
आम मतदाताको घरदैलोमा भेटघाटमा व्यस्त छु, भन्नुभयो । मतदाताको घरदैलोमा जाँदा मतदाताको तपाईंप्रतिको धारणा के छ ? कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
यहाँ झण्डैझण्डै साढे २७ हजार घरधुरी छन् । म यो निर्वाचनलाई लक्षित गरेर अहिलेसम्म ४० देखि ५० प्रतिशत घरधुरीमा पुगेको छु । यहाँ ९१ हजार २०१ मतदाता छन् । मैले ४० देखि ५० प्रतिशत मतदातासँग व्यक्तिगत रुपमा भेटघाट गर्ने अवसर पाएको छु । अझै केही दिन बाँकी छन् ।
मतदाताको घरदैलोमा जानेक्रममा म यो अभियानलाई तीव्रता दिनेछु । म एकदमै उत्साहित पनि भएको छु । मतदाताहरुको आशीर्वाद परिवर्तनको पक्षमा हामी एकपटक उभिन्छु, यो पटक डडेलधुराबाट नयाँ जनप्रतिनिधि चयन गर्छौँ । सम्भवतः तिमी हाम्रो नयाँ चयन गर्ने जनप्रतिनिधिमध्येको रोजाइमा पर्न सक्छौ भन्ने आसय चाहिँ पाएको छु । त्यसबाट म उत्साहित भएको छु ।
डडेलधुराबासी जनताले तपाईंसँग राखिरहेका मुख्य समस्याहरु के–के हुन् ? जुन तपाईंले निर्वाचित भएपछि पूर्णता दिन्छु भन्ने विश्वास दिलाइ रहनु भएको छ ?
डडेलधुराको जनताको बीचमा, जनताकै समस्याहरुकै बीचमा म जनताको आशीर्वाद पाएर निरन्तर रुपमा करीब ३२ वर्षदेखि क्रियाशील राजनीतिक कार्यकर्ता हुँ । यहाँका समस्याहरु नै मेरा यसपालिको निर्वाचनका मुद्दा हुन् । यी मुद्दा मैले ३२-३३ वर्षदेखि निर्वाचनका बेला आश्वासन पाइने त्यसपछि कार्यान्वयनको पक्षमा कहिल्यै नजाने, जुन निर्वाचित जनप्रतिनिधि भएर यहाँबाट पठाउने त्यसपछि पाँच वर्षपछि मात्र भोट माग्न आउने जुन प्रवृत्ति छ, त्यसका विरुद्धमा मतदाता छन् ।
त्यसविरुद्ध जनताको आवाज छ । ति समस्याप्रति म पूर्ण रुपमा जानकार छु र मलाई जनताले ति समस्याहरु भनिराख्नुपर्ने अवस्था छैन । त्यसैका लागि यहाँका परम आदरणीय मतदाताले मलाई जनप्रतिनिधि बनाएर आफ्नो सेवक बनाउने इच्छा प्रकट गरिराख्नु भएको छ । ति समस्याप्रति म पूर्ण ज्ञात भएको हुनाले मलाई प्रतिनिधिको रुपमा चयन गरिसकेपछि समाधान हुन्छन् भन्ने विश्वास उहाँहरुले लिनु भएको छ ।
मलाई समस्या भनिराख्नु भएको छैन, आफ्नो जनप्रतिनिधि बनाउने आश्वासन दिइराख्नु भएको छ । यहाँका जनताले मलाई जनप्रतिनिधि बन्ने सौभाग्य दिइसके पश्चात् म निर्वाचनलगत्तै डडेलधुराका ५२ वटै वडाका हरेक बस्तीमा जानेछु ।
तपाईका प्राथमिकता र चुनावी एजेन्डा केके छन् त ?
राजनीतिक दलहरुले जुन घोषणापत्र सार्वजनिक गरिराखेका छन् । जुन यसमा खर्च गरिराखेका छन् । यो नेपाली जनतालाई देखाउने एउटा आधुनिक नाटक हो । ०७२ मा आएको संविधान जहाँ मान्छेको बासको व्यवस्था ग्यारेन्टी गरिएको छ, गासको ग्यारेन्टी गरिएको छ । रोजगारीको ग्यारेन्टी गरिएको छ । स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको छ । न्यायसिद्ध सर्वसुलभ हुनुपर्यो । न्याय पनि किन्न पर्ने, स्वास्थ्य, शिक्षा पनि किन्नुपर्ने अवस्था छ ।
तर ती सबैलाई संविधानले ग्यारेन्टी गरेको छ । जुन संविधान यिनै नेताहरुले दस्तखत गरेर ल्याएको छ । यसको कार्यान्वयनको पक्षमा जाँदै गर्दाखेरि आज यत्रो संविधानवादको खिलापमा राजनीति उभिएको छ । संविधानमा आफैले लेखेका कुराहरु जनताले प्रत्याभूत हुने गरी पाएको छ भने, यसैभित्रका कुराहरु टिपेर, लेखेर, नक्कल गरेर कुनै किसिमका पनि घोषणापत्र, प्रतिबद्धतापत्र दिनु भनेको राजनीतिमा आधुनिक नाटक देखाउनु बाहेक अरु केही पनि होइन ।
मैले यहाँलाई निवेदन गरेँ, डडेलधुरा जिल्ला एउटा अपरिपक्व र आफूलाई केन्द्रिकृत बनाएर राजनीति गर्नेबाट निरन्तर प्रतिनिधित्व भएको कारणले नै आज डडेलधुराको हरेक गाउँबस्ती सराब (मदिरा) का कारणले असाध्यै ग्रसित छ । यहाँका ८० प्रतिशत घरधुरीका महिलाका बच्चाहरु त्यसको पीडामा बाँचिराखेका छन् । सदरमुकाम, सानाठूला जतिपनि शहरी क्षेत्र छन्, त्यहाँका बच्चाहरु दुव्र्यसनीसँग जोडिएका छन् ।
त्यहाँ अभिभावकहरु जसका बच्चाहरु दुव्र्यसनीसँग जोडिएका छन्, ती दुव्र्यसनीसँग अभिभावक कारण पीडामा छन् भने, नजोडिएका बच्चा पनि कुन दिन दुव्र्यसनीसँग जोडिन्छन् भन्ने पीडा छ । त्यसकारण समग्रमा दुव्र्यसनी र मदिराका कारण डडेलधुराको गाउँबस्ती, शहर, सिंगो जिल्ला समाज, सिंगो भुगोल ग्रसित छ ।
मेरो पहिलो मुद्दा यो समस्याबाट मुक्त गर्ने रहन्छ । मैले यो मुद्दा निरन्तर १३ वर्षदेखि गाउँमा, हरेक बस्ती, कार्यक्रममा उठाउँदै आएको छु । निरन्तर जागरण अभियान चलाउँदै आएको छु । दोस्रो मुद्दा गन्याप, परशुराम, घटाल, उग्रतारालगायत जतिपनि शक्तिपीठ छन्, ती शक्ति पीठहरुलाई धार्मिक, पर्यटकीय स्थलको रुपमा विकास गर्ने र यहाँ एकवर्षमा देशबाट र देश बाहिरबाट धेरै पर्यटक भित्रयाउने छ ।
जसबाट २५ हजार पढेलेखेका बेरोजगार युवालाई कृषि, उद्योग र जडिबुटीसँग जोड्ने मैले लक्ष्य राखेको छु । तेस्रो एजेन्डा भनेको डडेलधुराको कुनैपनि गाउँबाट सदरमुकाम आएमा २/३ घण्टा लाग्नने गर्दछ, पानी पर्यो भने सदरमुकामबाट गाउँ फर्किन नसकिने अवस्था छ । यहाँका जुन बाटाघाटा छन्, यिनलाई ५ वर्षमा व्यवस्थित बाटाघाटाहरु बनाउने र अधूरा भएकालाई पूरा गर्ने ।
त्यस्तै, खानेपानी, बिजुलीको अभावमा कुनैपनि घरधुरी नरहने अवस्था सिर्जना गर्ने । जल, जमिन छ तर, बाझो रहेको जल र जमिनसँग जोडेर सञ्चित भूमि बनाउने यी मेरो तेस्रो लक्ष्य रहेको छ । त्यस्तै, स्वास्थ्य र शिक्षा जुन संविधानले ग्यारेन्टी गरेको छ, स्वास्थ्य, शिक्षा र न्याय नागरिकलाई पूर्णरुपमा राज्यबाट निःशुल्क प्रत्याभूत र उपभोग गर्ने अवस्थाको सिर्जना गर्ने मेरो एजेन्डा रहनेछ ।
अर्को चाहिँ डडेलधुराबाट महेन्द्रनगर कञ्चनपुर एकीकृत मार्गको सुरुवात गर्ने, पाँचवर्षमा म यसलाई सुरुवात गराउँछु । यसको सुरुवातबाट डडेलधुरा र कञ्चनपुरको जमीनको मूल्य छ, त्यो एकै अवस्थामा आउँछ । यहाँको उत्पादनको बजारीकरण गर्न सहज हुन्छ । भारतबाट आउने पर्यटकहरु निर्वाधरुपमा डडेलधुरामा आउन सक्ने सहज बाटो तय हुन्छ । हजारौँको संख्यामा यहाँ पर्यटकहरु भित्रँदा यहाँको बेरोजगारी र गरिबी पूर्ण रुपमा अन्त हुन्छ । यो पटक म जनप्रतिनिधि बन्ने सौभाग्य पाएभने म यी कुराहरु गरेर देखाउँछु ।
मुख्य प्रतिस्पर्धी पुरानै अनुहार र केही स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन् । तपाईंलाई पराजयको डर छ या निर्वाचन जित्छु भन्नेमा ढुक्क हुनुहुन्छ ?
म उमेरले ४८ वर्षको भएँ । राजनीतिमा लागेको ३२-३३ वर्ष भयो । मैले अहिलेसम्म निर्वाचन हारेको रेकर्ड छैन । म धेरै निर्वाचनमा उम्मेदवार भएँ । म निर्वाचन जित्नेमा पूर्णरुपमा विश्वस्त छु । म यहाँका हरेक मान्छेहरुको भावको अनुमति लिएर यहाँका समस्याहरु तिमीले समाधान गर्न सक्छौ, तिमी हाम्रो असली प्रतिनिधि र सेवक हुन सक्छौं भनेर अनुमति लिएर नै मैले बीपी कांग्रेसको करुवा चुनाव चिन्हबाट उम्मेदवारी दर्ता गरेको कारण स्वतस्फूर्त रुपमा हरेक बस्ती, गाउँ, घरबाट मेरो पक्षमा, मेरो चुनाव चिन्ह करुवामा मत दिनेमा मान्छेहरु लागिरहेका छन् ।
त्यसैगरी यहाँको स्वतन्त्र समूह छ । मसँग नै ०७४ को निर्वाचनमा प्रदेशसभामा पराजित हुनुभएको डा.तारा जोशी हुनुहुन्छ । त्यतिखेर उहाँ सूर्य चुनाव चिन्ह लिएर लड्नु भएको थियो । उहाँसँग पनि ठूलो राजनीतिककर्मीहरुको संख्या छ । उहाँले मलाई सहयोग गरिराख्नु भएको छ । त्यसैगरी, नेकपा (एमाले) ले मलाई समर्थन गरिराखेको छ । केही उम्मेदवारले उम्मेदवारी दिएपनि उहाँहरुले मलाई समर्थन गर्ने ढंगले अभिव्यक्ति दिनुभएको छ ।
निरन्तर रुपमा खेतमा काम गरिराखेका किसानदेखि, दाउरा–घाँस बोकेर, दूध बेचेर जीविकोपार्जन गरिराख्नु भएको महिला दिदीबहिनीहरु, गिट्टी कुटेर आफ्नो जीविकोपार्जन गरिराखेका मजदुर र शिक्षित र बौद्धिकवर्गले मलाई निरन्तर मेरो पक्षमा जनमत दिने र जिताइदिने अभिव्यक्ति दिएका छन् ।
विशेषतः सानेपा कांग्रेस शेरबहादुर देउवाजी, सम्माननीय प्रधानमन्त्री ज्यूले नेतृत्व गरिराखेको जुन पार्टी छ, त्यो पार्टीबाट पनि दिनहुँ दर्जनौं पार्टीका महत्वपूर्ण जिम्मेवारीमा रहेका साथीहरु मलाई समर्थन दिने गरी विज्ञप्ति दिइराख्नु भएको छ । ऐक्यवद्धता जनाउनु भएको छ ।
त्यसैगरी व्यापार गरेर खानेवर्गहरु जो सबैभन्दा बढी कर तिर्छन् । हामीले तिरेको कर देशका शासकहरुले कसरी दुरुपयोग गरिराखेका छन् । यहाँको व्यापार घाटा कसरी भइराखेको छ । देशको अर्थतन्त्र कसरी श्रीलंकाको पथमा गइराखेको छ भन्ने कुराहरु बुझेका ति वर्गको पनि अन्तर हृदयबाट मलाई सहयोग मिलिराखेको छ ।
त्यसकारण मेरो सबै सातवटै प्रतिस्पर्धीप्रति र उहाँको उम्मेदवारीप्रति मेरो एकै प्रकारको सम्मान छ, तर मलाई जित्ने कुरामा कहिँपनि द्विविधा छैन । योपटक यहाँको मतदाताले, भूमिले, देवीदेवताको पनि मलाई आशीर्वाद रहनेछ र म यो पटक निर्वाचन जित्नेछु । डडेलधुराका जनताले नेपाल बदल्ने प्रक्रियामा पनि नेपाल एकीकरणको प्रक्रियामा अमरसिंह थापाले लडेको ठाउँ हो ।
त्यसैले नेपालको इतिहास आर्थिक रुपमा बदल्ने, नेपालको जुन विकृति छ त्योबाट मुक्त नेपाल बनाउने । जुन विदेशीहरुको चलखेल गर्ने राजनीतिक अखडाको रुपमा देखिनेगरी अहिलेका नेताहरु गइराखेका छन् । त्योबाट मुक्त नेपाल बनाउने र नजिकका छिमेकीहरुसँगको असल मित्रता जुन हाम्रो परम्परादेखि चलिआएको छ ।
त्यसलाई कायम गर्ने अभियानको सुरुवात यहाँका मतदाताले नेतृत्वदायी भूमिका यसपालिको मतदानबाट गर्नेछन् भन्ने कुरामा मलाई कहिँपनि द्विविधा छैन ।
तर, तपाईले यसो भनिरहँदा तपाईकै समर्थनमा रहेको दल नेकपा (एमाले) ले पहिले एमालेलाई समर्थन गरी पछि स्वतन्त्र उम्मेदवार बोकेर कर्ण मल्लले राजनीतिक इमानदारिता देखाउनु भएन भन्ने एमाले नेताहरूको आरोपलाई कसरी लिनुहुन्छ ?
नेकपा एमाले पार्टी पंक्ति र सिंगो नेकपा (एमाले) को अध्यक्ष कमरेड केपी ओलीले मलाई समर्थन गरिराख्नु भएको छ । त्यसको लागि कमरेड केपी ओलीलगायत नेकपा एमालेका सबै नेतृत्व र डडेलधुरा जिल्लाका नेकपा (एमाले) का सदस्य साथिहरुप्रति हार्दिक आभार व्यक्त गर्न चाहान्छु । मैले सुरुदेखि कहिल्यै ढाँटेको छैन । मैले चाहे केपी ओलीसँग यो कुरा गर्दा होस् ।
चाहे यहाँको जिल्ला अध्यक्ष प्रकाश साउँद र जिल्ला इन्चार्ज पठानसिंह बोहरा जीसँग कुरा गर्दा होस् । प्रष्ट रुपमा म जितेको क्षेत्रमा (क) प्रदेशमा नेकपा (एमाले) को साथीलाई समर्थन गर्नेछु । मैले जितेको प्रदेशमा मैले प्रस्ताव गरेको उम्मेदवारलाई नै नेकपा (एमाले) को पार्टी पंक्तिलेसमर्थन गर्ने वातावरण बनाउनुपर्दछ भनेर निरन्तर आएको हो । म यो कुरामा कहिँपनि विचलित भएको छैन । मैले इमानदारितापूर्वक जो कुरा राखेको छु, त्यसैलाई कार्यान्वयन गरिराखेको छु ।
त्यो कुरा नेकपा (एमाले) को स्वयं अध्यक्ष केपी ओलीले बुझेर नै महेन्द्रनगरको आमसभामा प्रष्ट रुपमा डडेलधुरामा कर्णबहादुर मल्ललाई हाम्रो समर्थन छ । सिंगो नेकपा (एमाले) पार्टी पंक्ति करुवा चुनाव चिन्हमा मत माग्नका लागि भनेर निर्देशन दिनुभएको छ । त्यसलाई एमाले अरुभन्दा अनुशासित संगठन भएको पार्टी हो । यहाँका साथीहरुले यसलाई गम्भीरतापूर्वक लिनुभएको छ र कार्यान्वयनको दिशामा अगाडि लैजानुहुनेछ र लैजानुभएको छ ।
तर, एमाले अध्यक्ष ओलीको निर्देशन त त्यहाँका एमाले नेता कार्यकर्ताले मान्नु भएन, अवस्था त्यस्तो देखिदैन, एमालेको पूर्ण साथ र समर्थन पाउँछु, म मिलाउन सक्छु भन्नेमा विश्वस्त हुनुहुन्छ त ?
हैन, उहाँहरुको एमालेको पार्टी अध्यक्ष केपी ओलीको निर्देशन नमान्ने अवस्था रह्यो भने, त्यो उहाँहरुको पार्टीको कमजोरीको कुरा रह्यो । तर, मलाई समर्थन दिनुभएको छ । म पूर्णरुपमा नेकपा (एमाले) को समर्थन प्राप्त गर्छु र यहाँका हरेक नेकपा (एमाले) का जिम्मेवार नेता, कार्यकर्ता, सदस्य साथीहरु र एमाले समर्थित हरेक मतदाता मलाई करुवा चुनाव चिन्हमा मतदान गर्नेछन् भन्ने कुरामा म विश्वस्त छु ।
तपाईसँग मुख्य प्रतिस्पर्धीको रुपमा देशकै प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा हुनुहुन्छ । विगतमा २०४८ यताका ६ वटा संसदीय चुनाव जित्दै आएको इतिहास छ, यसपटक उहाँलाई रोक्ने तपाईका के कस्ता रणनीति छन् र तपाईको त्यो प्रयास कति सफल होला ?
आज हरेक घरमा उनीबाट हामी पिल्सिएका छौँ, हामी पीडामा छौँ । हामी शोषित भएका छौँ । हाम्रो मतले उनी चाहिँ शासक भएका छन् । र हाम्रो मात्र शोषण गरिएन देशकै अर्थतन्त्रको दोहन गरेर हेलिकप्टरमा आउन सक्ने ल्याकत र ताकत भएका उम्मेवार हामी मात्र हौँ, भनेर हामी सबैको अपमान गरिराख्नु भएको छ ।
उहाँलाई हामीले सधैँ जितायौँ ६ पटक । उहाँबाट सधैँ हामीलाई हार्ने र यो मुलुक पनि हार्ने गरिकन गतिविधिहरु गरिए त्यसकारण यसपटक हामी उहाँलाई मत नदिइकन ससम्मान बिदाइ गर्छौँ भनेर डडेलधुराका साढे २७ हजार घरधुरीमध्ये लगभग ९० प्रतिशतभन्दा बढी मतदाताले भनिरहेका छन् । उनका विगतका गतिविधि, क्रियाकलाप जुन देशप्रति, डडेलधुराप्रति र जनताप्रति, मतदाताप्रति, आफ्ना कार्यकर्ताप्रति आफ्नो राजनीतिक वंश र अंशमा दाबी गर्ने हरेक जिम्मेवारी पाटोप्रति जुन गलत रबैया रह्यो ।
त्यसका बारेमा जुन नकारात्मक चर्चा परिचर्चा भइरहेको छ । त्यो नै जितको महत्वपूर्ण आधार हो । अरु आधार नै खोज्नु परेन, त्यसैका लागि उहाँले झण्डै ७-८ वटा कार्यक्रम डडेलधुरामा गर्नुभयो । जसमध्ये ६० प्रतिशत सुरक्षाकर्मीको उपस्थिति छ । ४० प्रतिशत यहाँका मतदाताको उपस्थिति छ, त्यो पनि ठूलो खर्च गरेर, ठूलो आस र त्रासका बावजुद जम्मा भएकाहरु हुन् । उहाँका ७-८ वटा कार्यक्रमको सबै जोड्दा पनि ७ हजार मान्छेको उपस्थिति थिएन । यो उपस्थितिले पनि अब यहाँका जनताले उहाँलाई यो पटक मतदान नगरिकन स–सम्मान बिदाइ गर्ने कुराहरु प्रष्ट देखिराखेको छ ।
अर्को कुरा उहाँ जित्ने भए मेरो कार्यकर्ता, साथीहरु, सहकर्मीहरु र मसँग लागेका मान्छेहरु मेरो राजनीतिक प्रेरणाबाट मेरो राजनीतिमा लागेका मान्छेहरुलाई लाखौँ रुपैयाँ दिएर, ठूलाठूला आश्वासनहरु दिएर ठूलो मेहनत गरेर लगिरहनु भएको छ । किनभने, उहाँ हार्दै हुनुहुन्छ । उहाँलाई डर छ जनताको, किनकी उहाँले जनताको अपमान गरिराख्नु भएको छ ।
तपाईं प्रतिनिधि सभा सदस्यमा विजयी भएमा डडेलधुराले के प्राप्त गर्छ ?
प्रतिनिधि सभाको सदस्य भनेको देशलाई समयसापेक्ष घटनाक्रमले चाहेको अवस्थामा नयाँ कानुनहरु बनाउने, मौजुदा कानुनहरुलाई संशोधन गर्ने नै महत्वपूर्ण जिम्मेवारी हो । प्रतिनिधि सभाको सदस्य भइसकेपछि नीति निर्माण गर्ने ठाउँ हो तर, हाम्रो जुन अल्पविकसित देशहरुमा आफ्नो महत्वपूर्ण डेभलपमेन्ट एजेन्टका रुपमा विकासे प्रतिनिधिका रुपमा सम्पूर्ण विकासहरु उसले गर्नुपर्छ भन्ने, जुन ढंगको संस्कृति छ ।
त्यो संस्कृति नै पहिलो कार्यभारका रुपमा दिने प्रचलन छ । त्यसबाट मपनि विमुख रहन सक्दैन । रह्यो, नीति कार्यान्वन गर्ने तर, आज संविधानवादमै यो देश छैन । आज देशका सञ्चालकहरु संविधानवादमा छैनन् । जुन देशमा सर्वोच्च अदालतका निष्कलंकित सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई महाअभियोग लगाइन्छ । जुन प्रधानन्यायाधीशको निर्णयबाट आफै प्रधानमन्त्री भएका छन्, आफै उनकाविरुद्धमा महाअभियोग लगाउँछन् ।
राज्य संयन्त्रका सम्पूर्ण सुरक्षा निकायहरुलाई सर्वोच्च अदालतमा गएर न्याय माग्नुपर्ने बनाइन्छ । सुरक्षा निकायहरु विवादमा ल्याइन्छ । त्यो देशमा पहिले यो संविधानवादमा विश्वास राख्ने कि नराख्ने त्यो चिजलाई म आफ्ना अभिव्यक्तिहरु र अवधारणाहरु मार्फत् बहसमा लैजान्छु । बनेका कानुनहरु संविधानभित्र बनाउने कानुन हुन् ।
कति कार्यान्वयनको पाटोमा गए, कति गएनन् रु विधेयक, ऐन कानुन बनाएर कति त्यत्तिकै थन्केका छन् संसद सचिवालयमा । महत्वपूर्ण कुराहरु नेपालको जुन मौजुदा कानुन छ, त्यो नेपालको संविधान अनुसार बनेको हो भने, त्यसलाई जनप्रतिनिधिहरुले व्यस्थापिका र कार्यपालिकाले कार्यान्वयनको पक्षमा लगेको छ कि छैन भन्ने विगतका शृङ्खलाहरुको फेहरिस्त लिएर म त्यसलाई सदनमा समावेश गराउँछु ।
संविधान नमान्ने नै हो भने नेपाली जनताले चाहेको धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको विषय जनमतसंग्रहमा किन नलैजाने रु आम नेपाली जनताले संघीयता चाहेको छैन । यो नेपाली जनताको मुद्दा पनि होइन भने संघीयता र धर्मको बारेमा हिन्दु राज्य बनाउने अथवा धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र बनाउने र संघीयता खारेज गर्ने भन्ने बारेमा जनमत संग्रहमा जानुपर्छ भन्ने आवाजहरु म संसदमा उठाउँछु ।
अन्तमा, प्रतिनिधि सभा सदस्यको उम्मेदवारका हैसियतले आम मतदातालाई केही आग्रह वा सन्देश छ ?
आम मतदातालाई यो पटक म जसरी तपाईहरुको भावअनुसार यहाँका जनता, मतदाताको आशीर्वादले निरन्तर राजनीतिकर्मीको रुपमा क्रियाशील भएर आफूलाई यहाँका महाशक्ति, शक्तिशाली नेताहरुले मलाई पटकपटक राजनीतिक आंकलन गरे जसरी बचाएर राखे ।
यहाँका देवीदेवताले त्यसैगरी यसपाली देश दुर्घटनाबाट बचाउन, देशको अर्थतन्त्र श्रीलंकाको बाटोमा जानबाट रोक्न, खुलेआम विदेशीका एजेन्ट भएर जसरी काम गरिराखेका छन्, यिनलाई सही ठाउँमा ल्याउनका लागि नै मलाई आफ्नो अमूल्य मतदान, आशीर्वाद दिनुहुनेछ भन्नेमा म विश्वस्त छु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया