धितोपत्र बोर्डद्वारा संगठित संस्था गाभ्ने,गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका लागू

लोकपथ
13
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले संगठित संस्था एकआपसमा गाभ्ने,गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ लागू गरेको छ । बोर्डका अनुसार कात्तिक २४ गते अर्थात आज बिहिबारबाट उक्त निर्देशिका लागू गरिएको हो ।

धितोपत्र बोर्डका अनुसार ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने,गाभिने तथा प्राप्ति गर्ने भएमा बोर्डबाट पूर्व स्वीकृति लिनु पर्ने व्यवस्थासहित संगठित संस्था एकआपसमा गाभ्ने,गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी अन्य व्यवस्था निर्देशिकामा उल्लेख भए बमोजिम हुने व्यवस्था अनुसार नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने,गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ कात्तिक २४ गते देखि लागू हुने गरी स्वीकृत गरिएको हो ।’ यो निर्देशिका लागू भएपश्चात बोर्डमा धितोपत्र दर्ता गराएका दुई वा दुई भन्दाबढी संगठित संस्थाबीच प्रचलित कानुन बमोजिम एक आपसमा भएको सम्झौंता बमोजिम गाभिने संस्थाको अस्तित्व समाप्त भई गाभ्ने संस्थामा समाहित हुने वा एक आपसमा गाभिई नयाँ संस्था बन्न सक्ने जानकारी बोर्डले दिएको छ ।

मर्जर वा प्राप्ती प्रकृयामा बोर्डमा धितोपत्र दर्ता गराएको संगठित संंस्थाको सञ्चालक समितीले गाभ्ने, गाभिने वा प्राप्ती सम्बन्धी प्रारम्भिक समझदारी गरेको दिन वा सो को भोलिपल्ट कारोबार समय अगाडि गाभ्ने, गाभिने वा लक्षित संगठित संस्थाको आधारभुत सेयरधनीको कारोबार दफा ७ बमोजिमको साधारण सभा सम्पन्न नभएसम्म रोक्का राख्न आधारभूत सेयरधनीको विवरणसहित संगठित संस्थाले धितोपत्र बजार र केन्द्रीय निक्षेप सेवा प्रदायक संस्था समक्ष निवेदन दिनु पर्ने छ ।

यसरी प्राप्त निवेदन बमोजिम धितोपत्र बजार तथा केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थाले सो संस्थाको आधारभुत सेयरधनीको कारोबार तत्काल रोक्का राख्ने व्यवस्था गर्नुपर्ने छ । यसैगरी बोर्डमा धितोपत्र दर्ता गराएको संगठित संस्था वा सो संस्थाको सेयर रजिष्ट्रारले उपदफा (१) बमोजिमको आधारभूत सेयरधनीको विवरण धितोपत्रको राफसाफ तथा अन्य कुनै कारणले हेरफेर भएमा तत्काल वा भोलिपल्ट कारोबार समय अगावै धितोपत्र बजार तथा केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थालाई उपलब्ध गराउनु पर्ने छ । यसरी प्राप्त विवरण बमोजिम धितोपत्र बजार तथा केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थाले कारोबार रोक्का गरिने आधारभूत सेयरधनीको विवरण आफ्नो कारोबार प्रणालीमा अधावधिक गरी सो बमोजिम आधारभुत सेयरधनीको कारोबार रोक्का राख्ने व्यवस्था गर्नुपर्ने छ ।

यसैगरी गाभ्ने, गाभिने वा प्राप्ती सम्बन्धी जानकारी राख्ने संगठित संस्थाका सञ्चालक, कर्मचारी तथा अन्य सम्बन्धित पक्षले प्रारम्भिक समझादारी नभएसम्म गाभ्ने, गाभिने वा प्राप्ती सम्बन्धमा कुनै पनि सूचना तथा जानकारी सार्वजनिक गर्न पाईने छैन । निर्देशिकामा उल्लेख भए अनुसार बोर्डमा धितोपत्र दर्ता गराएको संगठित संस्थाले प्रारम्भिक समझदारी गरेपछि उक्त संगठित संस्थाको दफा (७) बमोजिमको साधारण सभाबाट गाभ्ने, गाभिने वा प्राप्ती सम्वन्धी प्रस्ताव निर्णय नभएसम्म गाभ्ने, गाभिने वा प्राप्ती प्रकृया रद्ध गर्न सक्ने छैन । यसैगरी संगठित संस्थाले गाभ्ने, गाभिने वा प्राप्ती कार्य प्रारम्भिक सम्झौंता भएपछि छ महिना भित्र सम्पन्न गरिसक्नु पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?