मतदाताले चाहेसम्म चुनाव लडिरहन्छु : प्रकाशमान सिंह

लोकपथ
104
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदाताले चाहेसम्म आफू चुनाव लडिरहने बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार उनले बिहीबार बिहान बुद्धनगर क्षेत्रमा घरदैलोपछि पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले भने, ‘यहाँका मतदाताले मलाई मन पराएसम्म चुनाव लड्छु, जनताले चाहँदाचाहँदै मैदान छोड्न त भएन नि ।’

गणेशमान सिंहको १०८ औं जन्मजयन्तीको अवसरमा काठमाडौं महानगरपालिका–१० जोगीकुटीस्थित सुवर्ण पार्कमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर घरदैलो कार्यक्रम सुरु गरेका उनले काठमाडौं क्षेत्र नम्बर १ का मतदाताको माया पाइरहेको र फेरि पनि पाउने विश्वास व्यक्त गरे ।

उनले काठमाडौं क्षेत्र नम्बर १ मा विकास गरेको दाबीसमेत गरे । व्यक्तिले कब्जा गरेका सरकारी जग्गा फर्काएर १५ स्थानमा पार्क, सामुदायिक भवन र व्यायामशाला बनाइसकेको भन्दै उनले ज्येष्ठ नागरिकको सुविधाका लागि एउटा सुविधासम्पन्न भवन बनिरहेको जानकारी पनि दिए ।

खानेपानीको समस्या समाधानका लागि पनि आफूले पहल गरिरहेको उनले बताए ।

युवालाई र अनुभवीको टिमसहित चुनावमा होमिएको बताउँदै उनले फेरि पनि चुनाव जित्ने दाबी प्रस्तुत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?