प्रदेशमन्त्री थापाको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

लोकपथ
117
Shares

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता एवं प्रदेश नं १ का वन, वातावरण तथा भू संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधनप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा.प्रदीप पराजुलीले आज शोक विज्ञप्ति जारी गरी प्रदेश नं १ का निवर्तमान प्रदेशसभा सदस्य एवं मोरङ क्षेत्र नं ३ प्रदेश (१) का उम्मेदवार थापाको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

लामो समयदेखि निमोनियाबाट पीडित ५७ वर्षीय थापाको आज बिहान उपचारका क्रममा नोबेल मेडिकल कलेजमा निधन भएको हो । कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वकीय सचिवका रूपमा काम गरेका थापाले कांग्रेसको सङ्गठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।

थापाको निधनले कांग्रेसले एक उदाउँदै गरेको नेतृत्व गुमाएको पार्टीद्वारा जारी शोक विज्ञप्तिमा उल्लेख छ । प्रदेशमन्त्री थापाको निधनप्रति कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

‘प्रदेश नं १ का मन्त्री, निवर्तमान प्रदेशसभा सदस्य एवं मोरङ–३ (१) का प्रदेशसभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको निधनको खबरले मलाई स्तब्ध र दुःखित बनाएको छ, स्व.थापाले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनुभएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहनेछ’, सभापति देउवाले भनेका छन् ।

उनले स्व.थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै, मृतक आत्माको चिर शान्तिको कामना साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?