चितवन । राजनीति र सामाजिक क्षेत्रमा नवलपरासी जिल्लाका अग्रणी व्यक्तित्व तिलकप्रसाद सापकोटाको आज निधन भएको छ । विसं २००१ माघ १७ गते बागलुङको दमेकमा जन्मिएका सापकोटा गैँडाकोट नगरपालिका वडा नं ८ मा बसोबास गर्दै आएका थिए ।
दम रोगका कारण विगत तीन वर्षदेखि समस्या भोग्दै आएका सापकोटामा थप समस्या देखिएपछि मंगलबार दिउँसो १ बजे भरतपुर अस्पताल ल्याइएको थियो । राति सेन्ट्रर अस्पताल लगिएका उनको आज बिहान ११ः४५ बजे निधन भएको परिवारले जानकारी दिएको छ ।
बागलुङ हुँदै नवलपरासीलाई आफ्नो राजनीतिक तथा सामाजिक गतिविधिलाई निरन्तरता दिँदै आएका नेपाली कांग्रेसका पुराना नेता सापकोटाका दुई श्रीमती, सात छोरा र चार छोरी छन् । छोराहरू देशबाहिर रहेकाले उनको अन्त्येष्टि शुक्रबार या शनिबार गरिने परिवारिक स्रोतले जनाएको छ ।
को हुन् सापकोटा ?
आफ्ना पिताजी भूमिश्वर सापकोटालाई भेट्न नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइराला बागलुङको दमेकमा आउँदा १४ वर्षीय तिलक राजनीतितर्फ आकर्षित भएका थिए । बाल्यकालदेखि नै कांग्रेसको राजनीतिमा लागेका सापकोटाले कालान्तरमा आफ्नो क्षेत्रमा आफ्नै भाग काटेर विपीपुत्र डा.शशांक कोइरालालाई उम्मेदवार बनाएका थिए ।
केही वर्षअघि सापकोटाको पुस्तक ‘यात्रा निरन्तर’ विमोचन समारोहमा कांग्रेसका महामन्त्री डा.कोइरालाले भनेका थिए, ‘आफ्नो राजनीति पद मलाई दिएर यहाँ ल्याउनुहुने सापकोटाप्रति म ऋणी छु ।’ त्यसो त सापकोटाको राजनीतिक जीवन आफैँमा एउटा इतिहास रहेको उनका समकक्षीहरु बताउँछन् ।
सापकोटाको पुस्तकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनलाई आफ्नो गाउँठाउँको सामाजिक र राजनीतिक चेतना विस्तारका एक अभियान्ता भएको उल्लेख गरेका छन् । सुरुमा बाग्लुङ र त्यसपछि नवलपरासी केन्द्रमा रहेर नेपाली कांग्रेसको राजनीतिसँगै विकास, सुधार र सामाजिक रुपान्तरणमा प्रभावकारी भूमिका निभाउने सापकोटा यही क्रममा जेलनेल व्यहोर्ने तर, बाहिर जगत्को चिनारीमा आउन नचाहने एक उदाहारणीय पात्र भएको देउवाले पुस्तकमा शुभकामना दिँदै लेखेका छन् ।
नवलपरासीको गौँडाकोटलाई आत्मनिर्भर, उद्यमशील र प्राकृतिक स्रोत साधनका हिसाबमा हराभरा बनाउनमा सापकोटको योगदान जति उल्लेख्य छ । त्यत्तिकै युवा सशक्तीकरण, जनचेतना र शैक्षिक प्रवद्र्धनका दृष्टिमा पनि उनको अतुलनीय नाम जोडिएको छ ।
राजनीतिको केन्द्र काठमाडौंसँग प्रत्यक्ष–परोक्ष सम्पर्कमा रहे पनि सत्ता, शक्ति र पहुँचमा जोडिनुभन्दा आफ्नै माटोको धरातलमा रम्दै–रमाउँदै स्वान्त–सुखाय जीवन बिताएका सापकोटाको निरन्तर यात्रा अझै पनि यथावत छ, उत्तिकै अनुपम र अनुकरणीय छ– पुस्तकमा देउवाले भनेका छन् ।
पुस्तकमा अगाडि लेखिएको छ, ‘मलाई गाढा सम्झना छ– संवत् २०२७/२८ तिर नेविसङ्घको अधिवेशन गैँडाकोटमा हुँदा म नारायणीमा डुङ्गा चढेर पारि गएको थिए । पहिलोपटक मैले तिलक सापकोटालाई भेटेको र चिनजान भएको त्यही हो ।’ त्यसपछि जनमत सङ्ग्रहको बेलामा विपी कोइराला भारतबाट फर्केर देश आउँदा विपीसँगै चितवनमा तिलकजीलाई आफूले भेटेको देउवाले उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘तिलकजी अत्यन्तै भलाद्मी र सम्मानजनक व्यक्ति हुनुहन्छ । उहाँ जहिल्यै पनि आफ्नोभन्दा पार्टीको चिन्ता गर्ने कार्यकर्ताका रूपमा मैले पाएको छु ।’ राजनीतिक अभियोगमा विसं २०४० देखि रुपन्देही, पाल्पासहितका कारागारमा चार वर्ष बन्दी जीवन बिताएका सापकोटा कांग्रेसमा विसं २०१५ देखि सक्रिय रहेका थिए । सापकोटाले जननेता विपी कोइरालाबाटै कांग्रेसको सदस्यता लिएका थिए ।
सापकोटा गैँडाकोटमा रहेको कालिका संस्कृत विद्यापीठको संस्थापनादेखि हालसम्म अध्यक्ष थिए । उनी कालिका नमूना माध्यमिक विद्यालयको संस्थापक एवं पूर्वअध्यक्ष हुन् । विजय विकास स्रोत केन्द्रको उनी उत्प्रेरक हुन् । गैँडाकोटको कालिका मन्दिर र कालिका आश्रमका संस्थापक एवं आजीवन सदस्य उनी देवघाट क्षेत्र विकास समितिको पूर्वअध्यक्षसमेत थिए ।
सुकुम्बासी आयोगका पूर्व केन्द्रीय सदस्य सापकोटाकै अगुवाइमा गैँडाकोट जयश्री कुलो निर्माण गरिएको हो । ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालका आजीवन सदस्य उनी एक प्रजातान्त्रिक सेनानीका रूपमा देशैभर परिचित छन् । नेपाली कांग्रेसका संस्थापक नेताहरूको आश्रयस्थल घरलाई बनाएका सापकोटाको निवास पञ्चायतविरुद्धको लडाइमा आश्रयस्थलको रूपमा परिचित थियो ।
प्रजातन्त्र सेनानी संघका संस्थापक एवं केन्द्रीय सदस्य उनी पार्टीका विभिन्न पद हुँदै सधैँ सल्लाहकारको भूमिकामा रहेका थिए । विसं २०३६ को जनमत संग्रहमा बागलुङ बसेर बहुदलको पक्षमा माहोल बनाएपछि राज्यसत्ताका निम्ति उनी निसानामा परे । राजनीतिक यात्रामा उनले विसं २०२८ पछि बागलुङ र नवलपरासी जिल्लाको पार्टी सचिवका रूपमा काम गरेका थिए ।
आफू राजनीतिक र सामाजिकरूपमा स्थापित रहेको नवलपुर–१ मा कांग्रेसका तर्फबाट आफूले पाएको संसदीय टिकट नेता शशांक कोइरालालाई दिएर तीन पटकसम्म कोइरालालाई संसद् पठाउने त्यागी नेताका रूपमा सापकोटा चिनिन्छन् ।
सापकोटाको निधनसँगै राससका वरिष्ठ सम्पादक कृष्ण सापकोटा पितृशोकमा परेका छन् । राससको अङ्ग्रेजी सम्पादन शाखामा कार्यरत कृष्ण सापकोटा स्व.सापकोटाका कान्छा सुपुत्र हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया