अवसरसहितको चुनौतीमा पूर्वप्रधानमन्त्री खनाल

लोकपथ
91
Shares

इलाम । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल आसन्न प्रतिनिधिसभा निर्वाचनमा सत्तारूढ गठबन्धन दलका तर्फबाट इलाम निर्वाचन क्षेत्र नम्बर १ का प्रत्यासी छन् । उनीसँगै नेकपा (एमाले) बाट महेश बस्नेत प्रतिस्पर्धामा रहेका छन् ।

उनी इलामबाट सातौँ पटक चुनाव लड्दै छन् । छ पटक विजयी भइसकेका खनाल एकपटक कांग्रेसका उम्मेद्वार बेनुपराज प्रसाईंसँग पराजित भएका थिए । विसं २०४८ पछिका छ मध्ये पाँचवटा चुनाव जितेका उनी छैटौँ जितको प्रतीक्षामा छन् ।

विसं २०४८ को आमनिर्वाचन विजयी बन्दै संसद् भवन छिर्ने अवसर पाएका नेता खनाल त्यसयता २०५१ को मध्यावधि निर्वाचन, २०६४ सालको पहिलो संविधानसभा निर्वाचन, २०७० को दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए ।

उनी २०५६ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमामा पराजित भएमा थिए । विसं २०७४ को चुनावमा नेपाली कांग्रेसका भुपेन्द्र कट्टेललाई १७ हजारभन्दा बढी मतान्तरले पराजित गरेका खनाललाई यस पटक तिनै उम्मेद्वारसहित दलको साथ रहेको छ ।

पूर्व सहकर्मी तथा हाल एमाले जिल्ला अध्यक्ष बस्नेतसँगको भीडन्त खनालका लागि उति सहज भने पक्कै छैन । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलको साथ खनाललाई छ । नेता खनालले यो आफ्नो अन्तिम प्रतिस्पर्धा भएको बताइ सकेका छन् ।

इलाममा जन्मिएका उनी २०४६ को जनआन्दोलनपछिको अन्तरिम सरकारमा वन तथा वातावरणमन्त्री भए । विसं २०५३ मा सूचना तथा सञ्चारमन्त्री बनेका उनी २०६७ माघ २० गते प्रधानमन्त्री बने । गत स्थानीय निर्वाचनमा इलाम–१ मा वडाअध्यक्षले पाएको दलगत रूपमा प्राप्त मत हेर्दा एमालेले २६ हजार दुई सय ३३ मत पाएको छ ।

नेपाली कांग्रेसले २५ हजार सात सय मत पाएको थियो । त्यस्तै, एकीकृत समाजवादीका वडाअध्यक्षका उम्मेदवारले नौ हजार चार सय ८१, जनता समाजवादी पार्टीले एक हजार आठ सय २९, नेकपा (माओवादी केन्द्र) ले एक हजार दुई सय ३५ र राप्रपाले एक हजार एक सय ६९ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?