झापा ३ : सिटौलालाई लिङ्देनसँग बदला लिन कत्तिको सहज ?

लोकपथ
175
Shares

काठमाडौं । आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनले देश गर्माएको छ । उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।

कतिपय स्थानमा ‘हेभी वेट’ नेताहरु चुनावी प्रतिस्पर्धामा रहेकाले अधिकांश क्षेत्रको निर्वाचनलाई चासोका साथ हेरिन थालेको छ ।

यस्तै, चासोको केन्द्रमा छ, झापा ३ पनि । जहाँ नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिस्पर्धाको मैदानमा छन् ।

०७४को निर्वाचनमा कांग्रेसले सिटौलालाई समानुपातिक सूचीको पहिलो नम्बरमा राख्ने लगभग पक्कापक्की गरेको थियो । तर, अन्तिम समयमा सिटौलाले आफू प्रत्यक्ष चुनाव लड्ने भन्दै झापा–३ बाट प्रतिस्पर्धा गर्ने निधो गरे । तर, उनले सोचेजस्तो नतिजा हात परेन । उनलाई पराजित गरी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचिन भए । त्यही जितले नै प्रतिनिधि सभामा राप्रपाको अस्तित्व जोगायो ।

त्यतिबेला लिङ्देनले ४४ हजार ६ सय १४ मत प्राप्त गरी विजयी हुँदा सिटौला ३१ हजार १ सय ७१ मतमा सिमित भएका थिए । तर, लिङ्देनले पाएको मत राप्रपाको मात्र भने होइन । त्यतिबेला उनलाई तत्कालिन बामगठबन्धनको समेत साथ थियो ।

तर, अहिलेको परिदृश्य केही फरक छ । यसपाली सिटौलालाई सत्ता गठबन्धनको साथ छ । हिजो गठबन्धनकै साथ पाएको लिङ्देनलाई पनि एमालेले फेरि समर्थन गरेको छ । तर, पटकपटक राप्रपालाई भोट हाल्नुपर्दा यहाँका एमाले नेता तथा कार्यकर्तामा वितृष्णा पैदा भएको छ । जसले गर्दा एमाले पङ्तिको मत विभाजन हुने सम्भावना उच्च छ ।

सिटौलाले झापा ३ बाट ६ पटक चुनावी प्रतिस्पर्धा गरिसकेका नेता हुन् । उनी २०४८ सालदेखि चुनावमा भाग दिँदै आएपनि उनले हालसम्म दुईवटा मात्रै निर्वाचन जितेका छन् ।

उनले २०५१ सालमा भएको उपनिर्वाचन र २०७० सालको संविधानसभा सदस्यमा जित हासिल गरेका थिए । यो सिटौलाको सातौँ चुनावी प्रतिस्पर्धा हो । त्यसैले योपटक सिटौला सत्ता गठबन्धनको बलमा लिङ्देनसँग पाँच वर्ष अघिको बदला लिने दाउमा छन् भने लिङ्देन एमालेको सहयोगमा बिरासत जोगाउने धाउन्नमा छन् ।

स्थानीय मतपरिणामले के भन्छ ?

झापा ३ मा तीन गाउँपालिका, दुई नगरपालिकाका ९ वटा वडा पर्छन् । जसमध्ये गत स्थानीय तहको निर्वाचनमा बाह्रदशी गाउँपालिका एमाले, हल्दीबारी गाउँपालिका राप्रपा र कचनकवल गाउँपालिका कांग्रेसले जितेको छ ।

स्थानीय निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतका आधारमा कांग्रेस पहिलो छ । जसमा कांग्रेसका वडाध्यक्षले पाएको मत २५ हजार ९ सय ४९ छ । यस्तै, दोस्रो स्थानमा राप्रपा छ । जहाँ राप्रपाका वडाध्यक्षले पाएको मत २१ हजार १ सय ५९ छ । त्यस्तै, तेस्रो स्थानमा रहेको एमालेको मत २१ हजार ८५ छ । माओवादीको मत भने ६ हजार ६८८ छ । त्यस्तै, जसपाको ५ सय ३७ र लोसपाले २०८ मत पाएका थिए ।

स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई एकीकृत गर्दा लिङ्देनलाई सहज देखिन्छ । यसो गर्दा उनीसँग ४२ हजार ७५० छ । त्यस्तै, सिटौलासँग गठबन्धनको मत एकीकृत गर्दा ३२ हजार ८ सय ४५ हुन आउँछ । त्यसैले सिटौलाले निर्वाचन आफ्नो पोल्टामा पार्न केही कसरत भने गर्नैपर्छ ।

झापा ३ मा बिर्तामोड नगरपालिकाको वडा नं १०, भद्रपुर नगरपालिकाको वडा नंं १ देखि ८, कचनकवल गाउँपालिका, हल्दीबारी गाउँपालिका र बाह्रदशी गाउँपालिकाको भूगोल पर्छ ।

नेपाली कांग्रेसले भद्रपुर नगरपालिकाको प्रमुख र कचनकवल गाउँपालिकामा अध्यक्ष जितेको छ । यस क्षेत्रमा रहेका कूल २८ वटा वडामध्ये नेपाली कांग्रेसले सबैभन्दा धेरै १६ वटा वडामा जित हासिल गरेको छ । एमालेले ४, राप्रपाले ५, माओवादी केन्द्रले २ र एउटा वडामा जित हासिल गरेको थियो । माओवादी केन्द्र २ वटा वडामा र एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?