सुर्खेतमा चलचित्र महोत्सव जारी

लोकपथ
52
Shares

सुर्खेत । नेपालस्थित युरोपियन युनियनको प्रतिनिधिमण्डलले पहिलोपटक सुर्खेतमा आयोजना गरेको ११ औँ संस्करणको नेपाल–युरोपियन युनियन चलचित्र महोत्सव जारी रहेको छ । गत कात्तिक १९ गतेदेखि सुरु भएको महोत्सव वीरेन्द्रनगर कुइनेपानीस्थित मध्यपश्चिम विश्वविद्यालयको सेमिनार हलमा सञ्चालन भइरहेको छ ।

महोत्सवमा पाँच युरोपेली र तीन नेपाली चलचित्र दर्शक स्रोतालाई निःशुल्क हेर्ने अवसर मिलाइएको प्रतिनिधिमण्डलका प्रेस तथा सूचना अधिकारी अम्बर मैनालीले जानकारी दिए । ‘महोत्वस भौतिक र अनलाइन माध्यम गरी मिश्रित विधिबाट सञ्चालन गरिएको छ’, उनले भने, ‘चलचित्रप्रति दर्शकको आकर्षण पनि बढेको र उत्साह पनि थपिएको पाएका छौँ ।’

गत असोज १९ गते अरस्टी रियाहीले निर्देशन गरेको ‘अस्कर एवं लिली’ फिल्म र २० गते लोरेन्ट मिचेली र ओस्कारले निर्देशन गरेको ‘लोला’ र किरण श्रेष्ठले निर्देशन गरेको ‘यट द अनदर विन्टर’ प्रदर्शन गरिएको उनले बताए । उनका अनुसार सोमबार द लिटिल कमरेड, ‘गड्स् अफ मोलेन्बेक’, लाहुरेनी गोर्खा गर्ल देखाइएको छ ।

आज कात्तिक २२ गते समापनसत्रमा मिसा क्याम्पद्वारा निर्देशन गरिएको रोमिज सलुन र सुजित बिडारीले निर्देशन गरेको नेपाली कथानक चलचित्र ‘ऐना झ्यालको पुतली’ देखाइनेछ । ऐना झ्यालको पुतलीले हालैका दिनहरूमा थुप्रै प्रशंसा कमाएको छ ।

नेपालस्थित प्रतिनिधिमण्डलकार्यवाहक प्रमुख डा.जोयले इभोनेटले काठमाडौँबाहिर सुर्खेतमा नेपाली चलचित्र प्रस्तुत गर्न पाउँदा उत्साही भएको प्रतिक्रिया दिए । उत्कृष्ट फिल्मको प्रदर्शनले आम कर्णालीवासी दशर्कका साथै फिल्मका विद्यार्थीका लागि उपयोगी हुने उनले व्यक्त गरे ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले युरोपियन युनियनसँग चलचित्र महोत्सवमा सहकार्य गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । फिल्मबाट युरोप र नेपालको सांस्कृतिक र सामाजिक जीवनबारे थाहा पाउन एवं एकापसको सम्बन्ध प्रगाढ बनाउन सहयोग पुगेको उनले बताए ।

आगामी वर्ष कर्णालीको परिवेश समेटिएका वृत्तचित्र र फिल्मलाई पनि प्राथमिकतामा राख्न आयोजकलाई उपकुलपति प्रा.डा.सिंहले सुझाएका छन् । चलचित्रकर्मी सुजित बिडारीले कर्णाली प्रदेशका चलचित्रका विद्यार्थी तथा चलचित्रकर्मीलाई महोत्सव समापनको दिन मास्टरक्लास सञ्चालन गर्ने जनाइएको छ ।

आइतबार ‘लोला’ फिल्म हेरेपछि दर्शकले औधी मन छोएको प्रतिक्रिया दिए । दैलेखकी सुर्जा रावलले लोलाले फिल्मले आफ्नो मन छोएको प्रतिक्रिया दिए भने सुर्खेत लेकबेँसी नगरपालिकाका शेरबहादुर आचार्यले तेस्रो लिङ्गीको अन्तरआत्माको कथालाई समेटेको प्रस्तुति राम्रो लागेको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?