कर्प र सेरामिक्सले संयुक्त रूपमा नेपालमा सबैभन्दा ठूलो टाईल्स उत्पादन कम्पनी स्थापना गर्ने

लोकपथ
21
Shares

काठमाडौं । भारतको नम्बर एक र विश्वको सातौँ ठूलो टाईल्स कम्पनी कजारिया सेरामिक्स लिमिटेड र नेपालको प्रसिद्ध व्यापारिक समूह रमेश कर्पबीच नेपालमा ठूलो टाईल्स उत्पादन कम्पनी स्थापना गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौता अनुसार कम्पनीले नेपालमा हालकै सवैभन्दा ठूलोटाईल्स उत्पादन कम्पनी स्थापना गर्ने छ जसको वार्षिक उत्पादन क्षमता ८ लाख वर्ग मिटर हुनेछ । औपचारिक सम्झौतामा हस्ताक्षर कार्य दुबै समुहको विशिष्ट प्रतिनिधिहरुको उपस्थितिमा काठमाडौंमा सम्पन्न भएको हो ।

रमेश कर्पका कार्यकारी निर्देशक प्रतिक जलान र कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजारियाले हस्ताक्षर गरे । यस सम्झौता अनुसार दुबै कम्पनीको लगानी समान ५० प्रतिशत हुने र नेपालमै अत्याधुनिक उत्पादन कम्पनी स्थापना गर्न सम्बन्धित कम्पनीको तर्फबाट सम्झौता भएको हो । सिरामिक र भिट्रिफाइड टाईल्स उत्पादन गर्ने नवनिर्मित कारखानाकोे उत्पादन क्षमता ८ लाख वर्ग मिटर हुने र सन् २०२३ को अन्त्यसम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । नव निर्मित कारखाना भविष्यमा आफू निर्यातका लागि तयार हुने र नेपाली बजारको मागलाई पूरा गर्ने परिकल्पनाका साथ स्थापना हुँदैछ । यस बाहेक, नेपालमा उपलब्ध प्रमुख कच्चा पदार्थहरू टाईल्स उत्पादनमा प्रयोग गरिनेछ ।

नयाँ योजनाको बारेमा कजारिया सेरामिक्स लिमिटेडका संयुक्त प्रबन्ध निर्देशक कजारियाले भने,“नेपाल हाम्रा लागि सधैँ महत्वपूर्ण बजार भएको छ । हामी यहाँ दुई दशकभन्दा बढी समयदेखि उपस्थित छौँ र यो कदमले नेपालको बजारमा हाम्रो उपस्थितिलाई अझ बलियो बनाउनेछ । यो परियोजना तत्काल सुरु गरी आउँदो २०२३ को अन्त्य सम्ममा सञ्चालनमा आउनेछ । हामी हाम्रा विश्वस्तरीय उत्पादनहरु नेपालमै प्रतिस्पर्धात्मक रुपमा उपलब्ध गराउन चाहन्छौँ ।

हामी विश्वस्त छौँ की यो सुविधा सम्पन्न प्लान्ट एक प्रतिष्ठित नमुना उद्योग बन्नेछ जसमा अत्याधुनिक प्रविधिको प्रयोग, गुणस्तर, दक्षता र वातावरणीय मापदण्डहरु प्राथमिकताका साथ प्रयोजन गरिनेछ”।

रमेश कर्पका कार्यकारी निर्देशक श्री प्रतिक जलानले भने“यो एक ऐतिहासिक परियोजना भएकाले यसले देशमा रोजगारी सृजना गर्न महत्वपूर्ण टेवा पु¥याउनेछ । यो उद्योगबाट उत्पादित विश्वस्तरीय टाईल्स र अन्य उत्पादनहरु देशमै प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध हुनेछ”।

रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ताले थपे, “नेपाललाई औद्योगिकीकरण गर्ने नेपाल सरकारको लक्ष्यलाई साकार बनाउन रमेश कर्प प्रतिबद्ध रहनेछ । आयोजना शुरुवातसँगै देशको अर्थतन्त्र बढ्नुका साथै मुलुकमा ठूलो लगानीको वातावरण सृजना गर्नेछ र निकट भविष्यमा नेपालमा यस्तै अन्य ठूला लगानीहरु भित्रिनेछ भन्ने कुरामा विश्वस्त छौँ”।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?