फूलखेतीबाटै आत्मनिर्भर बनेका ‘चमेली’हरुको कथा

सौखका रूपमा घरको छतमा वा आँगनका छेउकुना लगाउने फूल अब डालीमा मात्रै सिमीत छैन । नेपालमा पछिल्लो समय व्यवसायिक फूल खेती गर्नेहरू बढेका छन् । फूल व्यवसायबाट आत्मनिर्भर बन्न सकिने भएपछि यस व्यवसायमा आउने नयाँ व्यवसायीको संख्या पनि बढ्दै गएको छ ।

सामान्य अवस्थामा फूलको माग जन्मसंस्कार पुजापाठ, विवाह, व्र्रतबन्ध, यज्ञयज्ञादी, मृत्युसंस्कार, उद्घाटन समारोह, राजनीतिक तथा संस्थागत कार्यक्रम, चाडपर्व यस्तै कामका लागि हुने गरेको छ । तिहारका बेला त सयपत्री र अन्य फूलको माग पनि थामिनसक्नु हुन्छ । त्यतिबेला भने छिमेकी मुलुकबाट अधिक मात्रामा आयात गर्नैपर्ने अवस्था हुन्छ । 

नागार्जुन नगरपालिकाको इचङ्कु फूलैफूलले छपक्कै छ । अहिले सबैको घर आँगनको डिलमा ढकमक्क सयपत्री, मखमली फूल फुलेर पहेँलै भएका छन् । बारीमा ढकमक्क फुलेको देख्दा लाग्छ, यो फूलको गाउँ हो  । 

चमेली श्रेष्ठ (४६) ले फूल खेतीलाई व्यवसाय रुपमा परिणत गरेको ८ बर्ष भयो । पहिला उनले थोरै जग्गाबाट शुरु गरेकी हुन् । 

अहिले उनको जग्गामा मखमली, सेतोपलूल, पुतली, असरपी, ज्ञानमाइजु, जिनिया आदि फूलहरु छन् । 

उनले स्कूल टेकेकी छैन । उनको बिहानी फूलबाटै शुरु हुने गरेको छ । उनको बिहान र बेलूकाको समय फूलसँग बित्ने गरेको छ भने दिनमा उनी बाख्रा चराउन जाने गरेकी छिन् । 

फूलको व्यापारबाट मात्रै उनको वार्षीक आम्दानी ५० देखि ६० हजार हुने गरेको छ । 

फूल बेचेरै उनको घर खर्च चल्छ । 

उनले मुस्कुराउदै भनिन्, “म र बुढा हो । घरको लागि चाहिने सबै समान किन्न पुगिहाल्छ । ठिकै छ अहिले सम्म त पुगेकै छ ।” 

फूलखेती शुरु गर्दा उनले आफ्नो जग्गा मात्र प्रयोग गर्थीन् भने अहिले उनले जग्गा भाडामा लिएर पनि फूल खेती गर्ने गरेको बताइन् । बर्षमा जग्गाको भाडा ४ हजार बुझाउने गरेकी छिन् ।  
फूल बाह्यै महिना फूल्ने भएपनि तिहारको बेलामा बढि व्यापार हुने गरेको छ । 

असार र कर्तिकको बेलामा बढि व्यापार हुन्छ । दशँै तिहार भएर हो नत्र चैत, बैशाख, जेठ असारका भने व्यापार हुने गरेको छैन । 

फूललाई राम्रोसँग हेरविचार गर्नको लागि प्राङ्गारिक मल, युरीया, चिनीमल, पोटास हाल्ने गरेको छ ।

उनले फूलको माला बनाउँदिनन् । गुच्छा मात्रै बेच्ने गरेकी छिन् ।  असनमा लगेर बेच्दा उक्त फूलको मूल्य पाँच देखि दश रुपैँया पर्छ । 

तिहारको बेलामा रातीको १ बजेबाट फूल टिप्ने गरेकी छिन् । पहिला गर्दा खेरी उनले अरुलाई बेच्न पठाउने गरेकी थिइन् भने अहिले अरुको भर नगरी उनी आफँै जाने गरेकी छिन् । 
चमेली दिनभरि फूल टिपेर २० किलोको झोलामा प्याक गर्ने गरेकी छिन् । बस चढ्ने ठाउँ उनको घरभन्दा आधा घण्टा जतिको दुरीमा छ । 

असनको सानोे ठाउँमा चार घण्टाको ३० रुपैँया तिर्ने गरेकी छिन् । “महानगरपालिकाले लखेटी हाल्छ । जसो तसो गरेर बेचिन्छ ।” पहिला बिरुवा किनेर रोप्ने गरेको भएपनि अहिले उनले आफै बिरुवा राख्ने गरेको बताईन् । 

“फूल राम्रो बनाउन बेलाबेलामा मल हाल्नु पर्छ , झार ओखल्नु पर्छ र पानी नियमित हाल्नु पर्छ । खटिन चाँहि सक्नुपर्छ । फाइदा हुन्छ ।” चमेलीले अनुभव साटिन् । तिहारको बेला बढि बिक्रि हुने गरेको छ अरु बेलाको तुलनामा चाहिँ । उनले थपिन् । 

“केटाहरु हल्लेर खाने, केटीहरु जोतिएर खाने ठाँउ त हो यो । गाहे त छ तर पेट त पाल्नै प-यो ।” चमेलीले भनिन् ।  

टिस्टुङ /पालूङ तिर आफ्नो घर बताउने रुकुमीनी ठकुरी भर्खरैमात्रै यहाँ बसाई सरेकी हुन् । उनलाई खासै फूलको व्यवसायको बारेमा थाहा छैन । तर उनी अरुको फूलखेती देखेर आकर्षितत भएकी छिन् । छोरा, बुहारी र नाति नातिना सँग बस्दै आएकी उनी बजारबाट किन्न नपर्ने गरी आफ्ना लागि बारीमा फूल लगाएको बताइन् । 

“धेरै जग्गा छैन । तर पनि यो पल्ट बाट कोशिस चाहिँ गरेको हो । साथीहरुसँग विरुवा लिएको यो पल्ट त  । अब राम्रो भयो भने अर्को वर्षबाट व्यवसायिक रुपमा अगाडि लैजान पर्ला ।” ठकुरीले भनिन् । 

 

दिलमाया श्रेष्ठले पनि १०११ वर्ष देखि फूल व्यवसाय मात्र गर्दै आएकी छिन् । फूल लगाउने , गोड्ने, टिप्ने र बजारमा लगेर बेच्ने उनको एकल जिम्मेवारी हो । 

“वर्षमा एक लाख जति हुन्छ । घर खर्च सबै यसैबाट चल्छ । बच्चाहरुको स्कुलको पैसा, बजार जानै खर्च र अलि अलि बचतपनि हुन्छ ।” श्रेष्ठले भनिन् । 

एक्लै सबै काम गर्नुपर्ने भएकाले समस्या हुने गरेको उनको भनाई छ । 

समूहले फूलको तालिम दिएको बेलामा उनी पनि त्यसमा सहभागि भएकी थिइन् । उनीसँग देखेर सिकेको अनुभव छ । 

उनले भनिनु, “पहिला चाँहि समूहबाट सिकेको हो । तर पछि त हेर्दै गर्दा सिकियो । देखेर सिकिने पनि रहेछ तर फूल व्यवसाय गर्नु भन्दा पहिले फूलहरुको बारेमा राम्रो जानकारी हुनु पर्ने रहेछ ।”

“फूललाई बढि लाग्ने रोग भनेको डडुवा र खुम्रे हो । यस रोगबाट फूललाई जोगाउनलाई मेटासीड र भिटामिन हाल्नु जरुरी हुन्छ ।” उनले बताइन् । 

 तिहारमा प्रयोग हुने अधिकांश फूल आयात भइरहेका छन् । आयातले मुलुकलाई परनिर्भर बनाउँदै लैजान्छ । आयातीत सामग्रीको बढ्दो प्रयोगले तत्कालका लागि अर्थतन्त्र चलायमान देखिए पनि दीर्घकालीन रूपमा नकारात्मक असर पार्छ ।

पछिल्लो समय फूलको व्यवसाय नेपालमा विस्तार हुँदै गएको छ । सरकारले फूल व्यवसायीलाई प्रोत्साहन र उचित तालिमको व्यवस्था नगर्दा राज्यको ढुकुटीबाट हरेक बर्ष करोडौँ रकम बहिर जान्छ । हरेक वर्ष तिहार आउँछ र यस चाडमा फूलको खपत अत्याधिक हुन्छ भन्ने कुरा नजरअन्दाज नगरी योजना बनाएर काम गर्ने हो भने पनि कम्तिमा फूलकै लागि अरु देशको भर पर्नुपर्ने थिएन ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?