चुनाव जितेपछि जनताकै साथमा हुन्छु, बोलेको कुरा पुरा गर्छु : प्रदीप पौडेल (अन्तर्वार्ता)

लोकपथ
325
Shares

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा उम्मेदवार बनेसँगै अहिले घरदैलोमा व्यस्त छन् । पौडेललाई पाँच दलीय गठबन्धनको सहयोग छ । यो क्षेत्रमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उम्मेदवार छन् । सो क्षेत्रमा विशेषगरी पोखरेल र पौडेलबीच प्रतिस्पर्धा हुने देखिएको छ । स्वतन्त्र रुपमा रञ्जु दर्शनाले पनि उम्मेदवारी दिएसँगै प्रतिस्पर्धा थप रोचक हुने देखिएका बेला गठबन्धनको साझा उम्मेदवार तथा कांग्रेस नेता पौडेलसँग चुनावी तयारीलगायतका विषयमा गरिएकाे कुराकानी :

घरदैलोमा मतदाताको कस्तो प्रतिकृया पाउनु भएको छ ?

मतदाता  नेताहरूले  भोट मागेर फर्किएपछि फेरि जनतामा फर्किदैनन् भन्ने पुरानो प्रवत्तिबाट झस्किएकाे पाएँ । तर, म अहिले काठमाडौँ ५ बाट उम्मेदवारका रुपमा आएसँगै जनतामा युवा उम्मेदवार देखेर उत्साह र यसले केही गर्न सक्छ भन्ने आशा जागेको देखेको छु । यसअघि पटक–पटक जनताले चोट खाए, तर यसपटक मैले जनताको त्यो आशंकालाई पूर्ण रुपमा निवारण गर्नेछु ।

किनकी, मेरो लामो पृष्ठभूमि छ । म विद्यार्थी राजनीति हुँदै केन्द्रदेखि अहिले काठमाडौँ ५ को उम्मेदवारका रुपमा रहेको छु । यसपटक चोटिलो प्रहार गर्नका लागि मैले उठाएका विषयहरू धारिला छन् । मैले उठाएका मुद्दाहरू, मेरो व्यवहार र सम्बन्धका कारण मैले चुनाव जित्ने माहोल बनेको छ ।

‘ब्रेन ड्रेन’ को समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ, कसरी गर्नुहुन्छ ?

हाम्रो देशमा ब्रेनड्रेनको समस्या बढ्दो छ। एउटा देश जो बौद्धिक नागरिकलाई जोगाएर राख्न सक्दैन भने त्यो देशको विकास कताबाट हुन्छ ?   सबै कुरा आयात गरेर मात्रै देश समृद्ध हुन सक्दैन । मैले यसअघि नै बिसिडी मोडल तयार गरेर ब्रेन ड्रेनको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छु । त्यसलाई म प्राथमिकताका साथ राखेर काम गर्छु ।

गरिबी, विदेश पलायन र शिक्षा क्षेत्रलगायतका कुरालाई कसरी हेर्नुभएको छ ? 

गरिबी निवारण अत्यावश्यक छ । देशमा रोजगारीको सृजना गर्दै उद्योग, कलकारखाना खोल्ने वातारण बनाउनुपर्छ र त्यसको संख्या बढाउँदै लैजानुपर्छ । वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई आफूले निराकरण गर्न देशमै रोजगारी चाहिन्छ नै । मैले काठमाडौं–५ मा मात्र नभई समग्र जिल्लामा रहेका विद्यालयलाई बुढानिलकण्ठस्तरको बनाउने मेरो पहल रहन्छ ।

प्रतिस्पर्धामा पटक–पटक मन्त्री भइसकेका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, रञ्जु दर्शनाजस्ता उम्मेदवार छन् नि ?

को कति पटक के भयो भन्ने कुराभन्दा पनि कसले के गर्याे भन्ने कुरा महत्वपूर्ण हो । पटक–पटक मन्त्री भएर देशलाई के लाभ भयो भन्ने कुराको हेक्का जनताले राखेका छन् । पोजिसन के छ भन्ने कुराभन्दा पनि पोजिसनमा बसेर के गरेको भन्ने कुरा नै मुख्य हो ।

अरू उम्मेदवारभन्दा तपाईं कसरी फरक हुनुहुन्छ ? 

यस क्षेत्रमा अरुले पटक–पटक धोका दिए । तर, म चुनाव जितेपछि पनि जनताकै काखमा बस्ने मान्छे हुँ । बोलेको कुरालाई पूरा गरेर देखाउँछु ।

कति मतले चुनाव जित्छु भन्ने लागेको छ ?  

अहिले निकै राम्रो वातावरण बनेको छ । जित्ने वातावरणकाबीच आमजनताले युवा र बोलेको कुरा पुरा गर्न सक्ने नेतालाई साथ दिनुहुन्छ भन्ने घर दैलो अभियानबाट मैले बुझेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?