समृद्धि फाईनान्स नेशनल भेट्रान चेस च्याम्पियनशीपमा नविन तण्डुकारको एकल अग्रता

लोकपथ
21
Shares

काठमाडौं । पूर्व राष्ट्रिय च्याम्पियन क्यान्डिडेटमास्टर नवीन तण्डुकारले समृद्धि फाईनान्स नेशनल सिनियर (भेट्रान) चेस च्याम्पियनशीपमा एकल अग्रता कायम गरेका छन् । पाचौं चरणको खेलमा अर्का पूर्व राष्ट्रिय च्याम्पियन पुण्यमान कर्माचार्यमाथि जीत हात पार्दै तण्डुकारले अग्रता कायम गरेका हुन । नेपाल बुद्धिचाल संघको आयोजना तथा समृद्धि फाईनान्सको मुख्य प्रायोजनमा ५० वर्ष माथि उमेर समुहका खेलाडीहरुको सहभागीता रहेको च्याम्पियनशीपको दोश्रो दिन आईतवार तेश्रो, चौथो तथा पाचौं चरणका खेल खेल सम्पन्न भएका छन् ।

शतप्रतिशत नतिजा निकालेका तण्डुकारले तेश्रो चरणमा भक्तपुरका बलराम नापीत तथा चौथो चरणमा रुपन्देहीका विजय गुरुङलाई पराजीत गरे । पाचौं चरणको समाप्तिमा तण्डुकार ५ अंकका साथ शिर्षस्थानमा रहेका छन् । दुई खेलमा बराबरीमा रोकिए पश्चात पूर्व राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपाली अंक तालिकाको दोश्रो स्थानमा रहेका छन् । पाचौं चरणमा काठमाडौंका राजेन्द्रप्रसाद श्रेष्ठलाई हराउन सफल भएका बद्रीलाल तेश्रो चरणमा कास्कीका रामबहादुर क्षत्रीसँग तथा चौथो चरणमा अर्का पूर्व राष्ट्रिय च्याम्पियन फिडेमास्टर विलमलाल श्रेष्ठसँग अंक बाड्न पुगे ।

पाचौं चरण पश्चात बद्रीलाल तथा विजय गुरुङको समान चारचार अंक भएको छ । विजयले तेश्रो चरणको खेलमा काठमाडौंका जर्नादन श्रेष्ठ तथा पाचौं चरणमा बाँकेका तीर्थ बहादुर विकलाई हराए । फिडेमास्टर विलमलाल श्रेष्ठ, पुण्यमान कर्माचार्य, राजेन्द्रप्रसाद श्रेष्ठ, गणेशमान दुवाल, जर्नादन श्रेष्ठ, रामबहादुर क्षत्री तथा भरत धिमालले समान ३ दशमलब ५ अंक बनाएका छन् । त्यसैगरी तिर्थबहादुर विक, बलराम नापित, लवकुमार श्रेष्ठ तथा सिताराम अग्रवाल समान तीनतीन अंकमा रहेका छन् ।

स्पोर्टस एण्ड ईभेन्टस नेपालको व्यवस्थापनमा पुतलीसडक स्थित कान्तिपुर सिटी कलेजमा जारी च्याम्पियनशीप अन्तर्गत सोमवार छैटौं तथा सातौं चरणका खेल सञ्चालन गरिनेछ । सोमवार बिहान आठ बजे सुुरु हुने छैटौं चरणको पहिलो बोर्डमा नविन तण्डुकार र बद्रीलाल नेपालीको भिडन्त हुनेछ । त्यसैगरी दोश्रो बोर्डमा च्याम्पियनशीपका शिर्ष खेलाडी विलमलाले विजय गुरुङसँग प्रतिष्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?