समृद्धि फाईनान्स नेशनल भेट्रान चेस च्याम्पियनशीप सुरु

लोकपथ
28
Shares

काठमाडौं । नेपाल बुद्धिचाल संघको आयोजनामा काठमाडौंमा समृद्धि फाईनान्स नेशनल सिनियर (भेट्रान) चेस च्याम्पियनशीप सुुरु भएको छ । च्याम्पियनशीपको पहिलो दिन शनिवार दुई चरणका खेल सम्पन्न भएका छन् । दुई चरणको समाप्तिमा बद्रीलाल नेपाली, फिडेमास्टर विलमलाल श्रेष्ठ, क्यान्डिडेटमास्टर नवीन तण्डुकार, बलराम नापीत, विजय गुरुङ, पुण्यमान कर्माचार्य र रामबहादुर क्षत्री समान दुईदुई अंकका साथ अग्रता लिन सफल भए ।

च्याम्पियनशीपका शिर्ष खेलाडी पूर्व राष्ट्रिय च्याम्पियन विलमलालले पहिलो चरणमा भक्तपुर जगन्नाथ ताम्राकार तथा दोश्रो चरणमा क्यान्डिडेटमास्टर भगवतीप्रसाद शर्मालाई पराजित गरे । त्यसैगरी तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलालले पहिलो तथा दोश्रो चरणमा क्रमशः काठमाडौंका सिताराम अग्रवाल एवम् लवकुमार श्रेष्ठमाथि जीत हात पारे ।

पूर्व राष्ट्रिय च्याम्पियन नविनले बर्दीयाका किरण नापीत तथा सप्तरीका भुवनेश्वर चौधरीलाई पराजित गर्दा अर्का पूर्व राष्ट्रिय च्याम्पियन पुण्यमानले ललितपुरका विनय श्रेष्ठ एवम् काठमाडौंका ज्ञानेन्द्रप्रसाद श्रेष्ठलाई हार चखाए ।

रुपन्देहीका विजय गुरुङ अनरेटेड रामकृष्ण शर्मा एवम् भक्तपुरका गणेशमान दुवालसँग अंक खोस्न सफल भए । कास्कीका रामबहादुरले श्याम राजवाहक एवम् कास्कीकै नरेन्द्र रानाभाटमाथी जीत दर्ज गरे । दुई चरणको समाप्ति पश्चात काठमाडौंका जनार्दन श्रेष्ठ, राजेन्द्रप्रसाद श्रेष्ठ र कैलालीका जीत बहादुर केप्छाकी समान १ दशमलब ५ अंकमा रहेका छन् ।

पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजमा जारी तीन दिने च्याम्पियनशीपको व्यवस्थापन स्पोर्टस एण्ड ईभेन्टस नेपालले गरेको छ । गत असार अन्तिम साता काठमाण्डौंमा सम्पन्न अधिवेशनबाट निर्वाचित बुद्धिचाल संघको नयाँ कार्यसमितिले हरेक वर्ष १५ वटा विधामा राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्ने निर्णय गरेको छ ।

नेपाली बुद्धिचाल खेल जगतका पहिलो पुस्ताका खेलाडीहरुलाई मध्येनजर गर्दै नेशनल सिनियर (भेट्रान्स) च्याम्पियनशीपबाट आफ्नो योजना कार्यान्वयन गर्न लागेको संघले यसै प्रतियोगितामार्फत नेपालमा पहिलोपटक डिजिटल चेस बोर्डसमेत प्रयोगमा ल्याएको छ ।

सातै प्रदेशका ३४ जना खेलाडीको सहभागीता रहेको च्याम्पिनशीपको कुल पुरस्कार राशी १ लाख ७४ हजार रुपैयाँ रहेको छ । स्विस लिग अनुसार ७ चरणमा सम्पन्न हुने च्याम्पियनशीपको विजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।

शनिवार आयोजित उद्घाट्न समारोहमा समृद्धि फाईनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले सामाजिक उतरदायित्व अन्तर्गत प्रायोजन गरिएको यस च्याम्पियनशीपलाई आगामी संस्करणमा समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । च्याम्पियनशीप अन्तर्गत आईतवार तेश्रो, चौथो र पाचौं चरणका खेल सञ्चालन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?