दोस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

लोकपथ
26
Shares

काठमाडौं । आयान आचार्य र भिदान्त चालिसे दोस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत यूू–८ ब्वाइज तर्फको प्रतिष्पर्धाको क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शनिवारवाट सुुरु भएको प्रतियोगितामा आयान र भिदान्तले आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउँदै अन्तिम आठमा प्रवेश गरेका हुन् । आयानले टोनिस श्रेष्ठ र भिदान्तले रिदन श्रेष्ठलाई सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरे । आयानले टोनिसलाई १०–८ र १०–१ को सेटमा जित निकाल्दा भिदान्तले रिदनमाथि १०–२ र १०–८ को सेटमा जित निकालेका हुन् ।

यस्तै, यही उमेर समूहमा इभान श्रेष्ठ, शहान्स बसन्यात, भिरल अग्रवाल, अर्यासराज पौडेल र अरित मल्लले पनि आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै अन्तिम ८ मा प्रवेश गरेका छन् । शनिवार नै सम्पन्न यूू–८ गल्र्स तर्फको विधामा निम्ती कुँवर र नोरगिमा लामाले सेमिफाइनलमा स्थान बनाएका छन् । निम्ती कुँवरले प्रनभी रानालाई १०–०, १०–७ को सोझो सेटमा पराजित गर्दा नोरगिमाले थिया श्रेष्ठालाई १०–८, १०–४ को सेटमा पराजित गरेकी हुन् ।

यस्तै, ब्वाईज यूू–९ अन्तर्गत अरित मल्ल, सुजन कुँइकेल, भिरल अग्रवाल, सभ्य जंग कार्की र कृतन्या शाह पनि क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । उनीहरु सबैले आ–आफ्नो प्रतिद्वन्द्वीलाई सोझो सेटमा पराजित गरेका हुन् ।

यस्तै, यूू–१० ब्वाईज तर्फको खेलमा सुजन कुँइकेल र युभेन मान श्रेष्ठ सेमिफाइनलमा प्रवेश गर्दा गल्र्सतर्फ साल्भी शेरचनले आयुश्री हजुर घलेमाथि ६–०, ६–० को सेटमा जित निकाल्दै अन्तिम चारमा प्रवेश गरिन । यूू–१४ व्वाईज स्पर्धामा ती खेलाडीले क्वार्टरफाइनलमा स्थान बाउँदा गल्र्सतर्फ भने चार खेलाडीले क्वार्टरफाइनलमा स्थान बनाए ।

वीर गणेमान फाउण्डेसनको आयोजना तथा नेपाल लनटेनिस संघको प्राविधिक सहयोगमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन नेपाल लनटेनिस संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष ज्योति राणाले गरेकी थिइन् । आगामी शनिवारसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिष्पर्धा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?