राष्ट्र बैंकले बैंक र वित्तीय संस्थामा १ अर्ब ४३ करोड राखिदिने

काठमाडाैं : बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गर्ने भन्दा कर्जा माग गर्नेको संख्या बढेपछि अहिले बजारमा तरलता अभाव छ । यही अभावलार्इ हटाउन भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालार्इ १ अर्ब ४३ करोड १२ लाख रूपैयाँ मुद्धती निक्षेपमा जम्मा गरिदिने भएको छ । 

त्रैमासिक ब्याज भुक्तानी गर्नेगरि राष्ट्र बैंकले निक्षेप लिन चाहने संस्थाहरूसँग प्रस्ताव मागेको हो । ३६४ दिने मुद्धती निक्षेपमा लगानी गर्न खोजेको राष्ट्र बैंकले मंसिर २ गतेदेखि बैंकहरूमा रकम जम्मा गरिदिनेछ । मुद्धती निक्षेप लिन चाहने राष्ट्रिय स्तरका बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदर सहित कार्तिक २० गते दिउँसो ३ बजेसम्म शिलबन्दी दरभाउपत्र पेश गर्न सक्नेछन् ।

तरलता अभावलार्इ व्यवस्थापन गर्ने उद्धेश्यका साथ केन्द्रीय बैंकले मुद्धती निक्षेपमा रकम जम्मा गरिदिएपछि बैंक तथा वित्तीय  संस्थामा रहेको तरलता अभाव केही हदसम्म हट्नेछ । राष्ट्र बैंकले बाणिज्य बैंकहरूलार्इ १ अर्ब १४ करोड ५० लाख, राष्ट्रिय स्तरका विकास बैंकलार्इ २१ करोड ४६ लाख र राष्ट्रिय स्तरका वित्त कम्पनीहरूलार्इ ७ करोड १६ लाख रूपैयाँ मुद्धती निक्षेपमा राख्न दिने जनाएको छ । 

निक्षेप लिनका लागि राष्ट्र बैंकले विभिन्न मापदण्ड तोकेको छ । मापदण्ड पुरा गरेका वित्तीय संस्थाहरूलार्इ केन्द्रीय बैंकले प्रस्तावित ब्याजदरका अाधारमा निक्षेप राख्न दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?