आन्तरिक पर्यटकको रोजाइमा ‘सन्राइज भ्यू प्वाइन्ट’

लोकपथ
104
Shares

ताप्लेजुङ । ताप्लेजुङको समदमुकामको सबैभन्दा नजिकको ‘सन्राइज भ्यू प्वाइन्ट’ पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ । पछिल्लो समय प्रचारप्रसार भएसँगै अहिले वडा नं ९ सुकेटारस्थित गुप्तेडाँडामा दैनिक सूर्योदय अवलोकन गर्न बाह्य तथा आन्तरिक पर्यटकको भीड यहाँ हुन थालेको हो ।

यो भ्यू प्वाइन्ट आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्दै गएको छ ।सूर्योदय भन्ने बित्तिकै पोखराको साराङकोट र पूर्वको इलामको श्रीअन्तु हाम्रो मानसपटलमा आउँछ तर ताप्लेजुङको सन्राइज भ्यू प्वाइन्टबाट सूर्योदय हेर्नका लागि अन्य ठाउँको तुलनामा कमी नएको स्थानीयवासीको भनाइ छ । अहिले बिहान सूर्योदयको अवलोकन गर्न आउनेको पर्यटकको घुइँचो लाग्न थालेको छ ।

पछिलो समय स्थानीयबासीले ‘सन्राइज भ्यू प्वाइन्ट’ नामकरण गरी प्रचारमा गर्न थालेपछि आन्तरिक तथा बाह्य पर्यटक सूर्योदय अवलोकन गर्न आउन थालेका हुन् । अहिले बिहान ६ः१० बजे उक्त भ्यू प्वाइन्टबाट प्रत्यक्ष सूर्योदय भएको अवलोकन गर्न सकिने भएकाले पर्यटकहरु थर्मसमा चिया तथा नास्ता बोकेर बिहान ५ बजे त्यहाँ पुग्ने गर्दछन् ।

सूर्योदयको अवलोकनसँगै विश्वको अग्लो हिमाल सगरमाथा, मकालु र विश्वको तेस्रो अग्लो कञ्चजङ्घा हिमशिखर चाँदीजस्तै टल्केको नजिकैबाट अवलोकन गर्न सकिन्छ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रका साथै अन्य हिमालको प्रत्यक्ष अवलोकन गर्न सकिने भएकाले यहाँबाट फोटो खिच्ने र टिकटक बनाउनेको भीड बढ्दो छ ।

विगतका वर्षहरुमा प्रचारप्रसार हुन नसकेको सन्राइज भ्यू प्वाइन्ट अहिले जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य भएको फुङ्लिङ नगरपालिकाका–१ वडासदस्य घनेन्द्र मादेनले बताए । भक्तपुरको नगरकोट र इलामको श्रीअन्तुको सूर्योदय अवलोकन गर्न आफू पुगेको अनुभव सुनाउँदै उनले भने, ‘इलामको श्रीअन्तु र ताप्लेजुङको सन्राइज भ्यू प्वाइन्टबाट जस्तै एकै किसिमले सूर्योदय अवलोकन गर्न सकिने रहेछ ।’

यहाँको भ्यू प्वाइन्ट पनि आफैँमा प्राकृतिक भ्यू टावर भएकाले आकाशे पुल निर्माण र अर्को डाँडामा स्तम्भ बनाएर त्यस ठाउँबाट पनि सूर्योदयको अवलोकन गर्ने स्थान बनाउनु आवश्यक रहेको उनको भनाइ थियो । ताप्लेजुङ धार्मिक हिसाबले पनि चिनिएको जिल्ला हो । वर्षमा हजारौँ संख्यामा पाथीभरा देवीको दर्शन गर्न आउने गर्दछन् ।

सन्राइज भ्यू प्वाइन्ट पनि पाथीभरा क्षेत्रमै भएकाले पाथीभराको दर्शनसँगै सूर्योदय अवलोकन गर्न सकिने सिदिङवा गाउँपालिका–२ का देवेन्द्र बानियाँले बताए । जिल्लाका अन्य पर्यटकीयस्थलमध्ये सुकेटार गुप्तेडाँडाको सन्राइज भ्यू प्वाइन्टबाट पनि सूर्योदयको अवलोकन गर्नु उपयुक्त हुने फक्ताङलुङ गाउँपालिका–६ विशस लिम्बूले बताए । पर्यटकीयस्थल रुपमा प्रवद्र्धन गर्नका लागि सूर्योदय अवलोकन गर्ने स्थानमा नगरपालिकाले १० लाख रुपैयाँको लागतमा आवश्यक संरचना निर्माण गरिसकेको छ ।

उक्त भ्यू प्वाइन्टसम्म जान पदमार्ग निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट समेत १० लाख रुपैयाँ उपलब्ध गराइएकामा पदमार्ग बने पनि भ्यू टावर भने बनाइएको छैन । प्रकृतिकरुपमै डाँडामा एउटा ठूलो ढुङ्गो छ । त्यही ढुङ्गाको भागमा घेराबार लगाइएको छ ।

पर्यटन प्रवद्र्धन गर्नका लागि तीन तलाको भ्यू टावर बनाउने योजना रहेको नगरप्रमुख अमिर मादेनले बताए । उनले भने, ‘मेरो चुनावी घोषणापत्रमा पनि सन्राइज भ्यू प्वाइन्टलाई पर्यटकीयस्थल बनाउने उल्लेख गरेको र आफ्नो कार्यकालसम्म आवश्यक भौतिक संरचना निर्माण हुन्छ’, भ्यू टावर निर्माण गर्नका लागि नगरपालिकाबाट तत्काल डिपीआर तयार गर्ने योजना रहेको नगरप्रमुख मादेनले बताए ।

सूर्योदयको दर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि भ्यू प्वाइन्टको नजिकै टी हाउस निर्माण गर्ने योजना रहेको छ । सदरमुकाम फुङलिङदेखि कालोपत्रे सडक हुँदै पाँच किलोमिटर दूरीमा सुकेटार विमानस्थल पर्दछ र सुकेटारदेखि करिब एक किलोमिटरमा गुप्ते डाँडा पर्दछ । सूर्योदय हेर्न जानेका लागि गुप्तेमा गाडी पार्किङस्थल निर्माण गरिएको छ भने गाडी पार्किङ गरेर करिब १० मिनेट हिँडेर भ्यूटावरसम्म पुग्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?