शिवराजसँग डीएनए मिलेदेखि व्यवसायीहरुको आन्दोलनसम्मका १५ मुख्य खबर (भिडियोसहित)

लोकपथ
65
Shares

१. निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मिल्यो, श्रेष्ठलाई पक्राउ गर्न माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेकी निहारिका पक्राउ ।

२. डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोग सर्वोच्च अदालतमा, लाभको पदका सन्दर्भमा सर्वोच्च अदालतको एकल इजलासबाट गरिएको प्रारम्भिक व्याख्यामा आयोगको असहमति ।

३. भारतले मिचेको भूमि फिर्ता ल्याएरै छाड्ने एमाले अध्यक्ष केपी ओलीको दाबी, राष्ट्रियताको सवालमा नेपाल एक इञ्च जमिन कसैलाई छाड्ने पक्षमा नरहेको उल्लेख ।

४. आगामी निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँको फैसला हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ, आगामी निर्वाचनमा अग्रगमनको पक्षमा फैसला गर्न आग्रह ।

५. जनताको माग पूरा गर्न एमालेको सरकार आवश्यक रहेको एमालेका उपाध्यक्ष विष्णु पौडेलको दाबी, एमालेको सरकारहुँदा विकास निर्माणका कामले गति लिएको तर्क ।

६. प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि मतपत्र छपाइ सकियो, मतदाताको संख्या एक करोड ७९ लाख ८८ हजार ५७० रहेको निर्वाचन आयोग द्वारा जानकारी ।

७. संविधानको रक्षा, शान्ति सम्झौताका बाँकी काम पूरा गर्न र समृद्ध नेपाल निर्माण गठबन्धनको मुख्य तीन काम भएको माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको भनाइ, गठबन्धनले निर्वाचन जितेर देशको विकासमा लाग्न आवश्यक रहेको जिकिर ।

८. मंसिर १ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सवारी चालक अनुमतिपत्रको अनलाईन आवेदन प्रणाली बन्द रहने, आगामी मङ्सिर ४ गते हुने चुनावलाई लक्षित गर्दै यातायात व्यवस्था विभागको निर्णय ।

९. आज हरिबोधिनी एकादशी, विष्णु भगवानको पूजा आरधनासहित तुलसी विवाह गरी मनाइयो ।

१०. ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै आएका उद्योगी, व्यवसायीहरुले गरे सडक आन्दोलन सुरु, एक अंकको ब्याजदर कायम गर्न र तत्कालका लागि लिलामी गर्ने नीतिगत व्यवस्था खारेज गर्न माग ।

११. यस साता सेयर बजार सूचक नेप्सेमा ४७ अंकको वृद्धि, लामो समयपछि केही सुधारात्मक संकेत देखिएको नेप्से यो साता १ हजार ९ सय २२.१६ अंकमा उक्लियो ।

१२. इबोलाका विरुद्ध सङ्घर्ष गर्नका लागि आर्थिक सहयोग आवश्यक रहेको युगाण्डा सरकारको भनाइ, प्रकोप नियन्त्रण गर्न कम्तीमा पनि २० मिलियन अमेरिकी डलर आवश्यक रहेको उल्लेख ।

१३. दक्षिण कोरियामा बढ्दै कोरोना संक्रमितको संख्या, पछिल्लो २४ घण्टामा थप ४३ हजार भन्दा बढी संक्रमण पुष्टि, ५३ जनाको मृत्यु, ३ सय ४ संक्रमित गम्भीर अवस्थामा ।

१४. नाबालिकालाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतको आदेश, आदेशसँगै उनलाई केन्द्रीय कारागार सुन्धारा चलान गरियो ।

१५. र, प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश र विभागीय टोली एपीएफ क्लबीचको खेल बरारीमा सकियो, दुवै टोलीले जोडे तीन खेलबाट समान ५ अंक ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?