‘गणतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन गरियो’

लोकपथ
35
Shares

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता बलबहादुर केसीले विभिन्न आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धीको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताएका छन् ।

सोलुखुम्बुबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका नेता केसीले सो कुरा बताएका हुन् ।

सोलुखुम्बुमा आयोजित संयुक्त चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान र गणतन्त्र नै जोखिममा परेपछि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहितका दलहरुको गठबन्धन बनेको बताए ।

संविधान र गणतन्त्रको रक्षाका लागि आगामी ४ मंसिरको निर्वाचनमा गठन्बन्धनका उम्मेदवारलाई मत दिएर जिताउन उनले सबैमा आग्रह गरे ।

सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यका लागि आफू पनि गठबन्धनको साझा उम्मेदवार रहेको जानकारी दिएका उनले संविधान, गणतन्त्रसहित संघर्षका उपलब्धीको रक्षामात्र होइन देशकै समृद्धिका लागि पनि गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताए ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समावादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेर केही दिन अघि काठमाडौंबाट सोलुखुम्बु फर्किएका नेता केसीले सोलुवासीले देखाएको माया र उत्साहले आफ्नो जित सुनिश्चित भइसकेको बताए ।

सोलुमा आफूलाई ‘विकास बहादुर’ले चिनिने बताउँदै आएका केसीले यसपटक एमालेका मानवीर राईसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । तर, संघीय सरकार र दलका शीर्षनेताहरुसँग सहज पहुँच भएका केसी विजयी हुने अनुमान गरिएको छ ।

२०४८ सालपछि निरन्तर सोलुखुम्बुबाट उम्मेदवार बन्दै आएका केसीलाई यसपटक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित गठबन्धन दलको समर्थन रहेको छ । उनी २०४८, २०५१, २०५६ र २०७० मा भएका निर्वाचनमा विजयी भएका थिए । सोलुखुम्बुबाट विजयी भएर ह्यार्टिक गरेका उनी यसपटक पनि निर्वाचित हुने दाबी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?