मोरङ । मोरङको लक्ष्मीमार्गमा जारी पाँचौं बेलबारी बुद्व एयर गोल्डकप फुटबल प्रतियोगिताको बिहीबार भएको खेलमा आयोजक डाँगीहाट युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पाहुना टोली झापाको रोलिङ एफ सी धुलाबारीको चुनौतीलाई टाइब्रेकर मार्फत ३–१ गोल अन्तरले पछि पार्दै आयोजक डाँगीहाट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । उत्कृष्ट प्रदर्शन गरेको झापा खेल समयलाई सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाटै बिदा भएको थियो । टाइब्रेकरमा आयोजकका साइमन लिम्बू, काशिम राई र अभिषेक लिम्बूले गोल गरे । निरज कार्कीको प्रहारले पोस्टको जाली चुम्न सकेन ।
झापाका तर्फबाट आशिष चापागाईंले मात्रै गोल गर्न सफल भए । एन्जल गुरुङ र प्रशान्त लक्समको प्रहार बाहिरियो । लोकेन्द्र लिम्बूको कडा प्रहारमा डाँगीहाटका गोल रक्षक किशोर गिरीले रोके । आयोजक डाँगीहाटका सुशील राईको प्रहारलाई झापाका गोलरक्षक मनोज प्रधानले असफल परि दिए । झापाका रजिन सुब्बाको १५ औँ मिनेटको प्रहारलाई आयोजकका गोलरक्षक किशोर गिरीले समाए । अभिषेक गुरुङले १९ औँ मिनेटमा सुनौलो अवसर पाए पनि गोल गर्न सकेनन् ।
झापाका आशिष चापागाईंले ४३ औँ मिनेटमा प्रहार गरेको खुल्ला बलमा गोलरक्षक गिरी बाधक बनिदिए । खेलको म्यान अफ दी म्याच आयोजकका गोलरक्षक गिरी घोषित भएर ५ हजार रुपैयाँ नगद पुरस्कार पाए । तेस्रो दिनको खेल उद्घाटन नगर उपप्रमुख नितु थापा कोइरालाले गर्नु गरेकी थिइन् ।
२३ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले ८ लाख १ हजार रुपैयाँ र उपविजेताले ४ लाख १ हजार रुपैयाँ नगद पुरस्कार पाउँने खेल प्रबक्ता नरेन्द्र बस्नेतले जानकारी दिए । शुक्रबारको खेल सहलेस युथ क्लब सिरहा र क्यामरूनको एभिनीयर फुटबल क्लबबीच हुने खेल संयोजक भाइकुमार गुरूङले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया