हिमालय एअरलाइन्स्ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने

लोकपथ
35
Shares

काठमाडौं । हिमालय एअरलाइन्स्ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्ने तयारी गरेको छ । यस सिलसिलामा यस एअरलाइन्स्लाई त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउन्ड हैन्डिलिन्ग तथा गौतम बुद्ध विमानस्थलमा कमर्सियल ग्राउन्ड हैन्डिलिन्ग अनुमति दिने नेपाल नागरिक उडड्यन प्राधिकरणले आश्वासन दिएको छ ।

जसअनुसार एअरलाइन्स्ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा क्वालालम्पुर नियमित चार्टर उडान गर्ने एयरलायन्सले जनाएको छ ।

नेपाल र मलेसियाको नागरिक उड्डयन प्राधिकरण र अन्य सान्दर्भिक ओभरफ्लाईङ इजाजतपत्र प्राप्त भए पश्चात ०३ नोभेम्बर २०२२ बिहीवारदेखि उडान सञ्चालन हुने अपेक्षा गरिएको छ ।

प्रारम्भिक चरणका लागि एअरलाइन्स्ले भैरहवा–क्वालालम्पुर–भैरहवा सेक्टरमा उडान भर्ने छ भने भविष्यमा गौतमबुद्ध विमानस्थलमा कमर्सियल ग्राउन्ड हैन्डिलिन्ग अनुमति प्राप्त भए पछि अन्य क्षेत्रमा पनि उडान विस्तार गरिने छ ।

सञ्चालन योजनालाई सम्बोधन गर्दै प्रशासनका उपाध्यक्ष विजय श्रेष्ठले भने“हामीले भैरहवाबाट नियमित उडानहरू सञ्चालन गर्न निरन्तर रुपमा लागिरहेका छौं । हिमालय एअरलाइन्स्को गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान सञ्चालनले यात्रुको सुविधासँगै अन्तर्राष्ट्रिय गन्तव्यहरुसँग नेपालका विभिन्न क्षेत्रहरूको अझ राम्रो कनेक्टिभिटी हुने कुरामा हामी आशावादी छौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हाम्रो देशकोे साझा राष्ट्रिय गौरव हो र यस विमानस्थलले धार्मिक पर्यटनको बढोत्तरीमा विशेष योगदान पुर्‍याउने सम्भावना भएकोले यस दिशामा हामी सबैले हातेमालो गर्नु पर्दछ ।“

हिमालय एअरलाइन्स्ले आफ्नो सञ्जालमा नयाँ थपिएको क्षेत्र भैरहवासँगै गुणस्तरीय नियमित उडान र ग्राउन्ड सर्भिस उपलब्ध गराउन पनि प्रतिबद्ध रहेको कुरा पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?