क्रिश्चियन धर्मको प्रचार गर्ने बिना लामा राप्रपाको समानुपातिकतर्फ पहिलो नम्बरमा

लोकपथ
6.4k
Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ तथा प्रतिनिधि सभातर्फको समानुपातिक उम्मेदवार बिना लामाले क्रिश्चियन धर्मको प्रचार गरेको पाइएको छ । राप्रपाको समानुपातिक सूचीको आदिवासी जनजातीको महिलातर्फ पहिलो नम्बरमा रहेकी लामाले क्रिश्चियन धर्म (ईसाई)को प्रचारप्रसार गरेको पाइएको हो ।

राप्रपाले भने ‘हिन्दू राष्ट्र’लाई आफ्नो मूख्य चुनावी एजेण्डा बनाइरहेको अवस्थामा लामा भने क्रिश्चियन धर्मको प्रचारमा लागेकी छन् । ‘सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र,’ राप्रपाले आफ्नो घोषणा पत्रमा समावेश गरेको प्रमुख एजेण्डा हो ।

यद्यपि, पार्टीको एजेण्डालाई नै मात खुवाउने गरी लामाले अक्टुबर ८ अर्थात असोज २२ गते शनिबार सामाजिक सञ्जाल फेसबुकमा चर्च अर्थात गिर्जाघरको भिडियो लाइभ गरिन् । उनले सोही दिन तीनवटा भिडियो प्रत्यक्ष प्रसारण गरेकी छन् ।

लामाको धार्मिक आस्था क्रिश्चियनतर्फ छ विगत ६ महिनायता उनको सामाजिक सञ्जाललाई केलाउँदा पुष्टि हुन्छ । लामाले २३ अप्रिल अर्थात गत वैशाख १० गते उनले आफ्नो फेसबुक प्रोफाइलमा जिसस क्राइस्टको फोटो राखेकी छन् । जसले उनको धार्मिक झुकावलाई प्रष्ट्याउन थप मद्धत गर्छ ।

धादिङकी लामा रुवी भ्याली गाउँपालिकाको निवर्तमान उप–प्रमुख समेत हुन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन आयोगमा समानुपातिक बन्द सूची पेस गरेसँगै राप्रपाको समानुपातिक सूचीमा कतै प्रश्न गर्ने ठाउँ नरहेकोसमेत बताएका थिए । लिङ्देनको त्यो अभिव्यक्तिलाई समेत लामाको उक्त लाइभ भिडियोले गिज्याएको छ ।

हिन्दू धर्मलाई प्रमुख एजेण्डा बनाएर चुनावी मैदानमा होमिएको पार्टीको उम्मेदवार नै विपरित धर्मको प्रचारवाजी गर्नु कत्तिको सोभनीय होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?