संविधान रक्षा गर्ने दायित्व नभुल्न गृहमन्त्रीको आग्रह

लोकपथ
78
Shares

भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले केही राजनीतिक दलहरू जनताको लामो सङ्घर्ष र बलिदानपश्चात् संविधानसभाबाट बनाइएको संविधान रक्षा गर्ने दायित्व नभुल्न आग्रह गरेका छन् । सत्ता गठबन्धन रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका मन्त्री खाणले आज भैरहवामा आयोजित कार्यक्रममा सार्वभौमसत्ता जनतामा निहित हुने व्यवस्था उल्ट्याउने षड्यन्त्र भइरहेको सन्देश गर्दै त्यसलाई चिर्न आवश्यक रहेको बताए ।

जनप्रतिनिधिले बनाएको संविधान संसद्मा दुई तिहाइ मतले संशोधन गर्न सकिने भए पनि जनआन्दोलनको मर्म र भावनाविपरीत संविधानलाई नै धरापमा पारेर प्रतिगमनलाई मलजल गर्नु गलत भएको मन्त्री खाणको तर्कछ । ‘संविधान विरोधीप्रति सचेत हुन र निर्वाचनमार्फत त्यस्तो रणनीतिमा लाग्ने शक्तिलाई परास्त गर्न आमनागरिकलाई आग्रह गर्दछु ।’ उनले भने, ‘निर्वाचनमा होमिएका केही दलहरुको संसद्मा उपस्थिति नै नगन्य हुन्छ, ती दलबाट कसरी विकास र समृद्धिको जनताले आशा गर्ने ? कसरी विश्वास गर्ने ?’

आगामी निर्वाचनपछि सत्ता गठबन्धनको सरकार बन्ने बताउँदै उनले भने, ‘पाँच दलीय गठबन्धनको त अहिले पनि सरकार छ, भोलि निर्वाचनपछि पनि हुन्छ, यही गठबन्धनले विकास गर्छ, जनचाहनाअनुसार काम गर्छ ।’

लामो सङ्घर्ष पश्चात् ल्याएको व्यवस्थामा नागरिकको अवस्था परिवर्तन गर्न कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमोर्चाबीच गठबन्धन गरेर निर्वाचनमा होमिएको बताउँदै गृहमन्त्री खाणले निर्वाचनपछि बन्ने गठबन्धन सरकारले नागरिकको अवस्था परिवर्तन गर्ने रणनीतिक योजना ल्याउने बताए । मुलुकमा शान्ति, स्थिरता, सुशासन र विकास एउटै दलले बहुमत ल्याएर गर्न अप्ठ्यारो पर्ने भएकाले गठबन्धन गरेर निर्वाचनमा होमिएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?