महानगरपालिकाको भाडा असुल्ने दाउले साँघुरियो खुल्लामञ्च

यो खुल्लामञ्च त्यही हो, जहाँ ०४६ सालको परिवर्तनपछि गिरिजा, गणेशमान र मदन भण्डारीहरुले भाषण गर्थे । मदन भण्डारीले भाषण गरेर राजालाई समेत हाँक दिएको यही खुल्लामञ्च हो । तर, अहिले खुल्लामञ्च साघुँरो बन्दै गएको छ । परिवर्तनको भाषण गर्ने देखि विकास निर्माण र समृद्धिको प्रतिबद्धता गर्नेहरुको लागि खुल्ला ठाउँ अहिले खुम्चिएको छ । 
खुल्लामञ्च त भरिभराउ भइसक्यो ।

कुनै समय काठमाडौंको खुल्लामञ्च राजनीति गर्नेहरुको ‘जक्शन’ जस्तै थियो । यही खुलामञ्चमा हुने राजनीतिक कार्यक्रममा भाषण गरेर धेरैले राजनीतिक उचाइलाई बढाए । तर, आजभोलि खुलामञ्चमा खासै राजनीतिक कार्यक्रम हुँदैनन् ।  

खुल्लामञ्च, दैनिक सयौँ युवाहरुको भलिबल खेल्ने मैदान बनेको थियो । स–साना केटाकेटीहरुले फुटबल, क्रिकेट आदि खेल खेल्ने गरेका थिए ।  

नेपालका ठूला आन्दोलनमा सभा हुने काठमाडौँ खुल्लामञ्चको स्वरुप बदलिएको छ । हजारौँ सर्वसाधारण एकै पटक उपस्थित हुन सक्ने मञ्चमा अहिले केही सर्वसाधारण अटाउन पनि मुस्किल देखिन्छ । 

नेपालमा राणा शासनदेखि लोकतान्त्रिक गणतन्त्रसम्मको आन्दोलन तथा सम्मेलन भएको खुल्लामञ्च पछिल्लो समयमा महानगरपालिकाले भाडामा लगाउँदै आएको छ भने खुल्लामञ्चको अवस्था पनि नाजुक हुँदै गएको छ ।

बसपार्क, पार्कीङ स्थल र फोहोरले खुल्लामञ्च भरिएपछि राजनीतिक कार्यक्रम, सभा, भेला, सांस्कृतिक कार्यक्रम, कार्यकर्ताहरुको घेराबन्दी, अनसन जस्ता कुनै पनि प्रतिकात्मक वा सर्मथनका कार्यक्रमहरु हुने गरेका छैनन् । समर्थक र विरोधीहरु अटाउँदैनन् । उनीहरु त सर्वसाधारणले आवत–जावत गर्ने सडकमा ओर्लिएका छन् । 

थुपारिएको माटो, फोहोरको डङ्गुर, अव्यवस्थित पार्कीङ, प्वाल परेका टिनका जस्ताले बारिएको खुल्लामञ्चको स्वरुप दिन प्रति दिन कूरुप बन्दै गएको छ ।

 

बागबजारस्थित महानगरपालिकाको जग्गामा रहँदै आएको बसपार्कमा बहुतलीय बहुउद्देश्यीय टावर निर्माण गर्ने भएपछि काठमाडौँको पुरानो बसपार्क खुल्लामञ्चको आधा भागमा सरिएको थियो । 

पूरानो बसपार्क भएको ठाँउमा टावर निर्माण गर्ने भएपछि खुल्लामञ्चमा सारिएको हो । तर यो स्थल भूकम्प गएपछि दरबारहाई हाई स्कूलको सामान र बसर्पाकको लागि प्रयोग भएको छ  । तर, त्यहाँ भवन नबन्ने भएपछि तत्काल बसपार्क पहिलाकै ठाँउमा सार्ने महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताएका छन् ।

तर, भ्यू टावरको निर्माण कार्य अहिलेसम्म शुरु नभएकाले पनि दुई वर्षको लागि भनेर सारिएको बसपार्कको स्थाई थलो नै खुल्लामञ्च हुने निश्चित देखिएको छ । 

पहिलेको टुँडिखेलअन्तर्गत पर्ने खुल्लामञ्चको हाल लम्बाई दुई सय पाँच र चौडाइ एक सय ५५ मिटर रहेको काठमाडौं महानगरपालिकाको रेकर्ड छ । खुलामञ्चको कुल क्षेत्रफल भने ५८ रोपनी छ ।

पछिल्लो समयमा जनआन्दोलन र राजनीतिक परिवर्तनसँगै खुल्लामञ्च पनि इतिहासको पानामा समेटिने जस्तो देखिन्छन् । राजनीतिक भाषणका लागि चिनिँदै आएको खुल्लामञ्चको परिचय फेरिँदै पुरानो बसपार्कमा परिणत हुँदै गएको छ ।

सहरको बीच भागमा रहेको एउटै मात्र खुला ठाउँमा, त्योपनि महानगरपलिकले ध्यान दिएको छैन । राज्यको आँगनको रुपमा परिचित खुल्लामञ्च अहिले करेसो जस्तो भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?