उम्मेदवारले प्रतिबद्धता विर्सने गरेको गुनासो

लोकपथ
0
Shares

काठमाडौं । आगामी निर्वाचनलाई स्वतन्त्र र राजनीतिक दलका उम्मेदवार अहिले गाउँगाउँमा चुनावी प्रचारप्रसारको अभियानमा जुटेका छन् ।

राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले अहिले घरदैलोलगायतका कार्यक्रममार्फत मतदातामाझ पुगिरहेका छन् । दलका नेता तथा कार्यकर्तामा निकै उत्साह देखिएको छ । जिल्लाका सहर तथा ग्रामीण क्षेत्रका अधिकांश मतदाताले उम्मेदवार चुनावको समयमा मात्र घरदैलोमा पुग्ने अनि विभिन्न किसिमका आश्वासन र प्रतिबद्धता व्यक्त गर्ने तर, जितिसकेपछि जनतासमक्ष गरिएका प्रतिबद्धता विर्सने गरेको गुनासो व्यक्त गरेका छन् ।

नेपालगञ्ज–१ धम्बोझीकी गीता गौतम पौडेलले वषौँदेखि घर डुबानको समस्या झेल्दै आएकी छिन् । नेपालगञ्जमा ढल निकासको व्यवस्थापन नहुँदा करिब ३२ वर्षदेखिको समस्या जस्ताको त्यस्तै रहेको दुःखेसो उनले सुनाईन् । उनले भनिन,“यसबीचमा धेरै निर्वाचन भए र उम्मेदवार भोट माग्न आए, ढल निकासको समस्या समाधान गर्न सबैले आश्वसनसँगै प्रतिबद्धता गरे तर अहिलेसम्म पूरा नभएपछि मेरो आश मरिसकेको छ । यसपालीको चुनावमा त मलाई त्यति उत्साह छैन ।”

अहिलेको वर्षाले घर डुबानमा परेर साह्रै दुःख पाएको उनले भनिन ,“ढल निकासको अभावमा घरभित्र पानी पसेर सबै सामानमा क्षति भयो र करिब एक साता होटेलमा बस्नुपर्‍यो, नेपालगञ्ज जस्तो सहरमा वर्षौँदेखिको समस्या समाधान नगर्नु नेताको नैतिकतामाथि नै प्रश्न उठने बेला आएको छ ।” नेपालगञ्ज सहरमा व्यवस्थित ढल निकास नभएका कारण उनिजस्तै सो टोलका पुराना घर एक झरिमै डुबानमा पर्ने गर्दछन् । तर अहिलेसम्म यो समस्या समाधान नहुँदा स्थानीयवासी दुखी भएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका– १ कि ललिता शर्माले महानगर बनाउने तयारीमा रहेको नेपालगञ्जमा उपमहानगरपालिका जत्तिको पनि सेवासुविधा नभएको बताउनुहुन्छ ।उनले सबभन्दा पहिला नगरका सबै समस्या समाधान गर्ने अनि आफै विकसित सहर बन्ने छ भनिन, “त्यसका लागि इच्छाशक्ति चाहिन्छ, जनतासमक्ष काम गर्ने भावना हुनुपर्दछ, त्यसपछि मात्र विकास हुन्छ ।” मतदातामा उत्साह नहुनुको कारण राजनीतिक दल तथा त्यसका उम्मेदवारसँग जनता रिझाउने किसिमका ठोस् एजेण्डा नभएको उनि बताउँछिन् ।

अर्का स्थानीय राजेशकुमार पौडेलले नेताले निर्वाचनलाई सत्ता र स्वार्थकोरुपमा लिएको गुनासो गरे। निर्वाचित उम्मेदवारले जनताको हितमा दीर्घकालीन योजना बनाएर कार्यान्वयन नगर्दासम्म अब आउने निर्वाचनमा मतदाताको उत्साह झन घट्दै जाने राजनितिक विश्लेषक डा. जनादर्न आचार्यले बताए । अहिलेसम्म निर्वाचनका क्रममा मतदातासमक्ष पुगेका राजनीतिक दल र उम्मेदवारका प्रभावकारी योजना देखिँदैन भने उम्मेदवारसमेत जनतामाँझ नभिजेका र सामाजिक विकास लगायतको अनुभवसमेत नभएकाबाट विकास सम्भव नभएको उनले बताए । अहिले प्रविधिको विकाससँगै परिवर्तनमुखी नेतृत्व खोजेका मतदाताले राजनीतिक दलहरुले त्यस्ता उम्मेदवार दिन नसकेको उहाँको विश्लेषण छ ।

अहिलेका राजनीतिक दलले विभिन्न समावेशीमूलक नाराको विगुल फुकेपनि व्यवहारमा कार्यन्वयन गर्न नसकेको खजुरा गाउँपालिका– ५ का सीता पासीको भनाइ छ । उनले दलित तथा गरिब परिवारका लागि सरकारले ठोस् कार्यक्रम ल्याउन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै स्थानीय सरकारलेसमेत आफूहरुको समस्याप्रति गम्भीर नभएको औँल्याउनुभयो । पासीले भने,“पाँच वर्षमा राजनीतिक दल तथा उम्मेदवार खुसी पार्नका लागि विभिन्न योजना तथा आश्वासन दिन्छन् तर निर्वाचित भएपछि एक पटक पनि आउँदैनन्, हाम्रा समस्या अहिलेपनि उस्तै छन्”, उहाँ थप्नुहुन्छ, “गरिबलाई केही आयमूलक कार्यक्रम दिएको भए हाम्रो जीवन निर्वाहमा सहजता हुन्थ्यो ।” जनप्रतिनिधिले आफू अनुकूलको कार्यक्रम तथा बजेट ल्याउने गरेकाले लक्षित वर्गको पहँुच पुग्न नसकेको उहाको भनाइ छ ।

नेपालगञ्ज–६ फुल्टेक्राका धु्रवराज शर्माले नेता तथा उम्मेदवारले चुनावको बेला मात्रै जनतासँग भेट्न आउने प्रवृत्तिले जनतामा नैराश्यता छाएको बताउनुभयो । उनले जनताले चुनेका प्रतिनिधिले सुशासन दिन नसकेको बताउनुहुन्छ । उनले भने, “कृषि उत्पादन, बजारीकरण, प्रविधिको प्रयोगको अभाव छ, भने मलको व्यवस्थापन हुन नसक्नु दर्भाग्यपूर्ण अवस्था हो ।”

नेपालगञ्ज–७ एमपीस्कुलरोड निवासी सूचनाको हकका अभियन्ता अधिवक्ता विश्वजित तिवारीले जनताले जतिपटक निर्वाचित गरेर प्रतिनिधि पठाए पनि निराशाबाहेक केही नपाएको बताउनुभयो ।उनले भने,“सरकार र सत्ताको नीति कानुन सबै परिवर्तन हुन्छ तर उनीहरुको नियतमा परिवर्तन आउँदैन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?