निर्वाचनका लागि भारतद्वारा नेपाललाई उपहारस्वरुप २०० वटा सवारीसाधन प्रदान

लोकपथ
156
Shares

काठमाडौं । आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन सञ्चालनका लागि भारत सरकारले नेपाललाई उपहारस्वरुप सवारीसाधन प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज(मंगलबार) आयोजित एक कार्यक्रमकाबिच नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट २०० वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरेका हुन् ।

यी सवारीसाधनले नेपालका विभिन्न संस्थालाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्याउने राजदूत श्रीवास्तवले विश्वास व्यक्त गरे ।

नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका यी सवारीसाधन चुनावका दौरान प्रयोग गरिनेछ । जसमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन् । यी सवारीसाधनको हस्तान्तरणले नेपालभर रहेका विभिन्न संस्थाको ढुवानी एवम् सुसञ्चालन प्रबन्धलाई थप व्यवस्थित बनाई निर्वाचनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सघाउ पुर्याउनेछ ।

अर्थमन्त्री शर्माले यी सवारीसाधन लगायत विकास साझेदारीको रुपमा नेपाललाई निरन्तर सहयोग गरेकोमा भारत सरकार र भारतीय जनतालाई धन्यवाद व्यक्त गरे ।

नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरुमा पनि भारत सरकारले नेपालका सुरक्षा निकाय र निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउदै आएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै २ हजार वटा र नेपाली सेना र निर्वाचन आयोगलाई ४ सय वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २ हजार ४ सयभन्दा बढी सवारीसाधन उपहारस्वरुप प्रदान गरिसकेको छ ।

भारत र नेपालबीच बहुपक्षीय एवम् बहुआयामिक विकास साझेदारी रहँदै आएको छ । जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?