कोदोको ढिडो र सिस्नोको तरकारीको स्वाद पस्कदै गुरुङ घरबास

लोकपथ
0
Shares

स्थानीय संस्कृति र परिकार पस्किएर पाहुनाको स्वागतसँगै आर्थिकस्तर विकासका लागि खोलिएका कतिपय घरबासलाई आधुनिकताले छुँदै गएको छ । स्थानीय संस्कृति, रहनसहन र खानाका परिकार छाडेर आवासीय घरमा परिणत भएका त्यस्ता घरबासका लागि नवलपुरको लहापेमा रहेको गुरुङ घरबास सिकाइको केन्द्र बनेको छ ।

जिल्लाको दुर्गम पहाडी क्षेत्रमा रहेको गुरुङ घरबासले पाहुनालाई स्थानीय परिकारको स्वाद चखाउँदै आएको छ । त्यतिमात्रै होइन, स्थानीय संस्कृति रहनसहन प्रस्तुत गरी पाहुनालाई आकर्षित गर्दै आएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रअन्तर्गत बौदीकाली गाउँपालिका–६ लहापेमा पर्ने गुरुङ घरबासले अझै पनि घरबासको मर्मलाई कायम राख्दै आएको हो । पूर्व–पश्चिम राजमार्गको कावासोतीबाट करिब ३० किलोमिटर उत्तरमा पर्ने यस घरबासमा पुग्ने पाहुनाको रोजाइमा कोदोको ढिडो, सिस्नोको तरकारी र तामाको अचार पर्ने गरेको छ । घरबासमा आएका पाहुनाको रोजाइमा परेका ती परिकारको स्वाद चखाइरहेका छन् गुरुङ घरबासका सञ्चालक । “यहाँ आउने पाहुनाले यहाँको स्थानीय खान के पाइन्छ भन्ने गर्नुहुन्छ, हामीकहाँ कोदोको ढिँडो र सिस्नोको तरकारी मुख्य हो भन्दा उहाँहरू खुसी हुँदै त्यही माग्नुहुन्छ”, घरबास सञ्चालक पवित्रा गुरुङले भनिन् । कतिपयका लागि सिस्नोको तरकारी खाएको अनुभवसमेत नहुने हुँदा त्यसको माग गर्ने उनले बताइन् । यससँगै स्थानीयरूपमा उत्पादन गरिएका खाद्यान्न तथा तरकारी, स्थानीय जातका कुखुराका परिकार घरबासमा बस्ने पाहुनालाई प्रदान गर्ने गरिएको उनले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?