राजनीतिक परिवर्तनका लागि स्वतन्त्र उम्मेदवारी दिएँ : प्रभु साह

RSS
78
Shares

धनुषा । रौतहट क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार प्रभु साहले देशको राजनीतिक समस्या समाधानका लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । उनले दलीय सिण्डिकेट विरुद्ध एवं परिवर्तनका लागि उम्मेदवारी दर्ता गराएको दाबी गरे ।

जनकपुरधाममा आज आयोजित ‘स्वतन्त्र उम्मेदवार जिताऔं अभियानको बृहत कार्यकर्ता भेलामा साहले देशमा व्यवस्था परिवर्तन भए पनि अवस्था जस्ताको त्यस्तै रहेको बताए । उनले भने, ‘मलाई त दुवै गठबन्धनले बोलाइरहेको छ । तर पनि म गइन । त्यसको एउटै कारण जनतालाई दलीय सिण्डिकेटबाट मुक्ति दिनु हो ।’

उनले जनताका लागि केही गर्न सक्ने संसद् आवश्यक रहेको र त्यस्तो परिवर्तन स्वतन्त्रबाट मात्र हुनसक्ने दाबीसमेत गरे । पूर्वमन्त्रीसमेत रहेका साहले स्वतन्त्र उम्मेदवारी चुनाव जित्नका लागि मात्र नभई अपवित्र गठबन्धन विरुद्धसमेत रहेको जिकिर गरे । कार्यक्रममा स्वतन्त्र अभियानका सहयोगी बद्री न्यौपानेले सत्ता र पदलाई कायम राख्नका लागि ठूला दलले अपवित्र गठबन्धन गरेको आरोप लगाए ।

स्वतन्त्र उम्मेदवार श्रीलाल महासेठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनुषा क्षेत्र नम्बर–३ का प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार उमेश साह, महोत्तरी ३ (क) प्रदेशसभाका स्वतन्त्र उम्मेदवार सुनिल रोहित लगायतले देशमा परिवर्तनका निम्ति स्वतन्त्र उम्मेदवारलाई जिताउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?