मोरङ । निर्वाचनको मिति मंसिर ४ गते नजिकिएसँगै जिल्लाका गाउँगाउँमा राजनीतिक दलहरू आफ्नो उम्मेदवार र चुनावी एजेण्डासहित पुगिसकेका छन् । मोरङको ६ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर २ लाई यस पटक मतदाताले रोचक ढङ्गले नियालिरहेका छन् ।
नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाले चुनाव लड्दै आएको सो क्षेत्रमा यसपटक उनकी छोरी सुजाता कोइराला नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेकी छन् । यो क्षेत्रमा स्वतन्त्र तीनसहित १३ जना चुनावी मैदानमा रहेका छन् । तीमध्ये कोइराला र नेकपा (एमाले) का ऋषिकेश पोखरेललाई मुख्य प्रतिस्पर्धी ठानिएको छ ।
हालको मोरङ–२ नम्बर क्षेत्र तत्कालीन क्षेत्र नम्बर १ हुँदा गिरिजाप्रसाद कोइरालाले २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचन जितेका थिए । वि.सं.२०५६ मा मोरङ र सुनसरी–५ बाट विजयी भएका कोइरालाले मोरङ छाडेपछि उपनिर्वाचनमा उनका प्रतिनिधि आमोदप्रसाद उपाध्यायले पहिलो संविधानसभा निर्वाचनसम्म कोइरालाको विरासत थामेका थिए ।
दोस्रो संविधानसभा निर्वाचनमा एमालेका ऋषिकेश पोखरेलले उपाध्यायलाई तीन सय ५८ मतले पराजित गर्दै विजयी बनेका थिए । विसं २०७४ को निर्वाचनमा कांग्रेसका मीनेन्द्र रिजालले एमालेका पोखरेललाई पराजित गर्दै कांग्रेसको साख फर्काएका थिए । १ लाख २४ हजार ७२९ मतदाता रहेको यस क्षेत्रमा रतुवामाई, सुनवर्षी नगरपालिका र रंगेली नगरपालिकाको वडा १, २, ३, ८ र ९, पथरीशनिश्चरे नगरपालिकाको वडा नं ५ र ६ र कानेपोखरी गाउँपालिकाको वडा नं १, २ र ३ सहित २९ वटा वडा छन् ।
यो निर्वाचन क्षेत्रको प्रदेश १ मा ६१ हजार ५८ कूल मतदाता संख्या रहेकोमा महिला मतदाताको संख्या २९ हजार दुई सय ४३ रहेको छ । त्यस्तै, प्रदेश २ तर्फ ६३ हजार छ सय ७१ कूल मतदाता संख्या रहेकोमा ३० हजार पाँच सय ६५ महिला मतदाता संख्या रहेको निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत नगेन्द्र केसरी पोखरेलले जानकारी दिए ।
क्षेत्रभरि जम्मा ६८ मतदान केन्द्र रहने निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन क्षेत्र नं २ ले जनाएको छ । झापासँग सिमाना रहेको रतुवा, बीचमा बक्राहा, पश्चिममा चिसाङ र लोहन्द्रा खोलाले घेरिएको यो क्षेत्रका बासिन्दा हरेक वर्षायाममा नदी कटान र डुबानको मार खेप्न बाध्य छन् । खोलाको कटान र डुबान नियन्त्रण दुवै उम्मेदवारको साझा एजेन्डा बनेको छ ।
क्षेत्र नम्बर २ को प्रदेश १ मा प्रदेशसभा सदस्यमा तीन स्वतन्त्रसहित १२ जना चुनावी मैदानमा उम्मेदवारी परेको छ । तीमध्ये नेकपा (माओवादी केन्द्र) का गणेश उप्रेती र एमालेका दानबहादुर कार्कीलाई मुख्य प्रतिस्पर्धी ठानिएको छ । उप्रेती अघिल्लो निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार हुँदा कांग्रेसका शिवकुमार गनगाईसँग पराजित भएका थिए ।
त्यसैगरी प्रदेश क्षेत्र २ मा दुई स्वतन्त्रसहित १० जना उम्मेदवार रहेका छन् । तीमध्ये एमालेका लीलाबल्लभ अधिकारी र कांग्रेसका विनोद कार्कीबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । गत स्थानीय निर्वाचनको मतगणनाअनुसार यो क्षेत्रमा एमालेभन्दा सत्ता गठबन्धन चार हजार पाँच सय मतले अगाडि देखिन्छ ।
स्थानीय निर्वाचनमा एमालेका वडाध्यक्षका उम्मेदवारले ३१ हजार तीन सय ३० मत ल्याउँदा कांग्रेसले २८ हजार छ सय १७ र माओवादी केन्द्रले सात हजार दुई सय ७१ मत पाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया