पोखरामा कर सङ्कलन शुरु

पोखरा । पोखरा महानगरपालिकाले नयाँ कार्यविधि अनुसार ३३ वटै वडा कार्यालयबाट पनि कर सङ्कलन शुरु गरेको छ । एकीकृत सम्पत्तिको नाममा उच्च अदालत पोखराले कर नउठाउन आदेश जारी गरेपछि महानगरले सम्पत्ति कर तथा भूमि व्यवस्थापन कर शीर्षकमा महानगर र वडा कार्यालयबाट कर सङ्कलन शुरु गरेको हो । 

पोखरा महानगरपालिका राजश्व शाखा प्रमुख छवि शर्माका अनुसार साविक लेखनाथमा पर्ने वडा नं २७, २९,३०, ३१ बाट कर सङ्कलन शुरु भएको छ । उनका अनुसार वडा नं ५, ६, ७, ८, १०, १३, १५, १७ मा पनि सम्पत्ति कर तथा भूमि व्यवस्थापन कर, घर नक्साको राजश्वलगायत सबै कर तिर्न सकिनेछ । 

महानगरपालिका कार्यालयमा कर सङ्कलन हुँदा जनतालाई कष्टकर हुनुको साथै बढी भीड हुने गरेको कारण सर्वसाधारणले जुनसुकै वडामा राजश्व बुझाउने व्यवस्था गरिएको बताउँदै उनले वडा नं १,२,३,४,११ र १६ नम्बर वडामा बुधबारदेखि कर सङ्कलन शुरु गरिने जानकारी दिए । 

पहिले नै भएको एकीकृत सम्पत्ति करका केही बुँदा संशोधन गरेर नयाँ कार्य्विधि पारित गरी महानगरले कर सङ्कलन शुरु गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल बताउनुहुन्छ । 

असोज महीनाको ५ गते राजपत्रमा कर सम्बन्धी नयाँ कार्यविधि प्रकाशित भएपछि महानगरले कर सङ्कलन शुरु गरेको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?