‘ठग्स अफ हिन्दोस्तान’ बाट ५ सय करोड ताक्दै आमिर खान

मुम्बई । हरेक दिपावलीमा कुनै न कुनै ठूलो फिल्म रिलिज हुने गर्छ भारतमा । यसपटक यशराज फिल्मको ब्यानरमा निर्माण भएको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ प्रदर्शन हुँदैछ । यो फिल्ममा आमिर खान, अमिताभ बच्चन, क्याटरिना कैफजस्ता सेलिब्रेटीले अभिनय गरेका छन् । पहिलोपटक बलिउडमा दुई दिग्गजले एकसाथ काम गरेको हेर्न दर्शक उत्सुक पनि छन् ।

यो महंगो फिल्म हो । बक्स अफिसमा यो फिल्मले तीन सप्ताहसम्म आफ्नो व्यापार कायम गर्न सक्नुपर्छ । जुन काम अत्यन्तै मुस्किल काम पनि हो । फिल्मको रिपोर्टका अनुसार यदि फिल्मको समीक्षा खराब आयो भने दर्शक घट्न थाल्छन् ।

केवल तीन दिनमा ठग्स अफ हिन्दोस्तानको व्यापार कस्तो रहनेछ भनेर अनुमान लगाउन सकिनेछ । यो फिल्मले दर्शकलाई कति लामो समयसम्म बाँधेर राख्नेछन् भन्नेमा अहिले नै चर्चा हुन थालेको छ ।

भारतीय मिडियाको दाबी अनुसार यो फिल्मबाट आमिर खानले ५ सय करोडको व्यापार भारतबाट मात्र गर्ने लक्ष्य राखेका छन् । आमिरको हरेक फिल्म उनको अघिल्लो फिल्मको तुलनामा बढी व्यापार गर्ने गर्छन् । यसको अर्थ उनको प्रतिस्पर्धा आमिर आफैसँग छ ।

उनको फिल्म दंगलले झण्डै ३ सय ८७ करोड कमाएको थियो । यसकारण पनि आमिरले ‘ठग्स अफ हिन्दोस्तान’ बाट बढी आशा राखेका छन् ।

तर, अहिलेसम्म भने आमिरको यो फिल्मले दर्शकमा त्यति धेरै उत्सुकता छर्न सकेको छैन । यसो त उनका यसअघिका फिल्म पनि रिलिज भएपछि एकाएक हाइप बनाउने गर्थे । फिल्मको गीत र ट्रेलरले भने मध्यम चर्चा पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?