१६ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

लोकपथ
104
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले १६ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र एक वर्षका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनका लागि पाँच अर्ब १० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी १७ माघमा परिपक्व हुनेछ ।

त्यस्तै, १८२ दिनको लागि पाँच अर्ब १० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० वैशाख १९ गते परिपक्व हुनेछ । एक वर्षका लागि एक अर्ब ५६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० कात्तिक १४ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल एक वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मितिअगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?