जुत्ता चप्पल सिलाएरै फेरिएको जयबहादुरको जीवनशैली

RSS
143
Shares

पाल्पा । जुत्ता चप्पल सिलाउने व्यवसायलाई सम्मानजनक नजरले नहेर्ने गलत प्रवृत्ति हाम्रो समाजमा छ । जुत्ता चप्पल सिलाउने मात्रै नभई मजदुरी होस् या जुनसुकै पनि सानो काम गर्ने गरिब, विपन्न वर्गलाई समाजले राम्रो दर्जामा राख्न सक्दैन । कतिपयले समाजमा इज्जत नहुने, डर र लाजका कारण झट्ट काम गर्न मन पराउँदैनन् ।

जयबहादुर नेपालीलाई भने जुत्ता चप्पल व्यवसायले दाममात्रै नभई समाजमा राम्रो चिनिने अवसर मिलेको छ । उनले दुई दशक अघिदेखि यो व्यवसायलाई अङ्गालेका हुन् । अहिले पनि निरन्तरता दिइराखेका छन् । ‘पुराना च्यातिएका फाटेका जुत्ता चप्पल हातमा लिएर सियो र धागोले सिलाएको देख्दा धेरैले थु–थु र घृणा गर्न थाले’, उनले भने, ‘अहिले भने व्यवसायबाट राम्रै कमाउन थालेपछि सबैले प्रशंसा गर्न थालेका छन् ।’

रामपुर–५ स्थित बेझाड बजारको एक कच्ची घरको सानो कोठामा सियो र धागोबाट सुरु गरेको व्यवसाय अहिले सटर भाडामा लिएर व्यवस्थित तरिकाले चलाएका छन् । विदेशतिर जानुभन्दा गाउँघरमै केही गरौँ भन्ने मनसायले पुराना च्यातिएका फाटेका जुत्ता चप्पल सिलाउने कार्य सुरु गरेको अहिले यसबाटै राम्रो आम्दानी गर्न सफल भएको उनी बताउँछन् ।

काम सानो ठुलो भन्ने हुँदैन, हातमा सीप भयो भने जुत्ता चप्पल सिलाएर लाखौँ कमाउन सकिने उनको अनुभव छ । बिहानदेखि राति अबेरसम्म पसलमा जुत्ता चप्पल सिलाएरै समय बितिरहेको छ । व्यवसाय फस्टाउँदै जाँदा हाल दुई जनालाई रोजगार दिएका छन् । यसै व्यवसायबाट छोराछोरीलाई उच्च शिक्षा, परिवारको खर्च सजिलै धान्दै आइरहेको उनको भनाइ छ ।

दुई जनालाई मासिक तलब, घरपरिवारको गुजारा सबै खर्च कटाएर मासिक ५० हजार रुपैयाँ बढी आम्दानी गर्न सफल भएको उनले बताए । ‘समाजले के भन्छ भनेर बसियो भने जीवनमा प्रगति गर्न सकिँदैन, आफूले जे काम जानियो त्यही काम गर्ने हो, परिवारको साथमा बसेर मैले जुत्ता चप्पल सिलाएरै राम्रो कमाई गरेको छु, यसमै म सन्तुष्टि र खुसीसाथ जीवन व्यतीत गरिरहेको छु,’ उनले भने ।

काममा इमानदारिता र मेहनत गरियो भने पैसा कमाउन दुःख छैन । विवाह, पार्टी, स्कुल, कलेजका जुत्ता आफैँले तयार पार्छन् । दैनिकजसो ५० भन्दा बढी ग्राहक पसलमा सेवा लिन पुग्छन् । सानो लगानीमा परिवारको साथमा रमाउन पाउँदा धेरै खुसीका साथ जीवन अगाडि बढेकोमा यस व्यवसायमा उनी गौरव गर्छन् ।

ग्राहकको भीडले नेपालीलाई काममा अहिले भ्याइनभ्याइ छ । पुराना काम सँगसँगै आफैँले नयाँ जुत्ता चप्पल पनि तयार पार्न थालेपछि व्यापार व्यवसाय बढ्दै गएको छ । नयाँ कामबाट भन्दा पुराना कामबाट धेरै फाइदा लिन सकिने उनको अनुभव छ । मेहनत गरियो भने अरबको खाडीमा कमाएको धनको तुलनामा दोब्बर बढी कमाइ स्वदेशमै गर्न सकिन्छ भन्ने सबैका उदाहरणीय पात्र बनेका छन्, ४८ वर्षीय जयबहादुर नेपाली ।

व्यवसायमा यस क्षेत्रमै सफल पात्रका रुपमा कहलिएका छन् । आफूले सक्दासम्म व्यवसायलाई धान्ने उनको अठोट छ । उनको व्यवसायमा रोजगार पाउँदा वसन्त नेपाली पनि उत्साहित छन् । दुबई, मलेसिया देशमा काम गरेर घर फर्केका वसन्तले दुई वर्ष अघिदेखि यहीँ काम गरी राखेका छन् । उनले दैनिक रु एक हजारभन्दा बढी रकम कमाइ गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?