कास्की–३ : प्रतिनिधिसभामा ‘जीवन’ र ‘बैरागी’ बीच प्रतिस्पर्धा

RSS
0
Shares

कास्की । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नम्बर ३ ले नयाँ जनप्रतिनिधि पाउने पक्का छ । यसभन्दा अघि निर्वाचित सांसदले टिकट नपाएपछि यस क्षेत्रले नयाँ प्रतिनिधिसभा सदस्य चयन गर्नेछ । कास्की ३ मा सत्ता गठनबन्धनबाट नेकपा (माओवादी केन्द्र ) का रामजीप्रसाद बराल ‘जीवन’ र नेकपा (एमाले) का दमोदर पौडेल ‘बैरागी’ बीच प्रतिस्पर्धा हुने देखिएको छ ।

मंसिर ४ गते हुने निर्वाचनमा दुवै उम्मेदवारले खाता खोल्ने दाउमा हुनेछन् । एमालेको तर्फबाट पौडेल एक्लै चुनावी मैदानमा हामिएका हुन् भने बराल लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेद्वार हुन् । सिट बाँडफाँटमा कास्कीमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजपादी र माओवादीले एक/एक सिट पाएको थियो ।

सोहीअनुसार माओवादीले बराललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको हो । बराल गण्डकी प्रदेश सरकारको अर्थ मन्त्री हुन् । उनी प्रतिनिधिसभामा पहिलोपटक जाने प्रतिष्पर्धामा छन् भने पौडेल पनि पहिलो पटक चुनावी प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा यसअघि एमालेका जगतबहादुर विश्वकर्मा विजयी भएका थिए । विसं २०७४ मा उनले माओवादीको साथ पाएर चुनाव जितेका थिए ।

उनले कांग्रेसका शुक्रराज शर्मालाई पराजित गरेका थिए । त्यसबेला विश्वकर्माले ३२ हजार छ सय ९० मत ल्याएर जित्दा शर्माले २४ हजार तीस सय चार मत ल्याएका थिए । करिब आठ हजार तीस सय मतान्तर रहेको आँकडालाई विश्लेषण गर्दै एमालेले यो पटक पनि चुनाव जित्ने दाउमा छ । आसन्न निर्वाचनमा एमाले विगतको विरासत जोगाउने कसरत गर्नेछ तर अघिल्लो चुनावको साझेदारी अहिले कायम छैन ।

अहिलेको निर्वाचनमा भने समीकरण बदलिएको छ । नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी भए भने एमालेबाट छुट्टिएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) बनेको छ । अहिलेको निर्वाचनमा कांग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धन छ । यस निर्वाचन क्षेत्रमा अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकासहित पोखरा महानगरपालिकाका १, २, ३, ५, ६, १८, १९, २३, २४, २५ र २६ गरी ११ वडा पर्दछन् ।

यीमध्ये वैशाखमा भएको स्थानीय तह निर्वाचनमा अन्नपूर्णमा एमाले र माछापुच्छ्रेमा कांग्रेसले जितेको छ । महानगरको ११ वडामध्ये तीन वडा एमालेले सात वडा कांग्रेस र एउटा वडा स्वतन्त्रले वडाध्यक्ष पदमा जितेका थिए । स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारको दलगत मतले एमाले ठूलो दल देखिन्छ भने सत्ता गठबन्धनमा रहेका कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र समेतको मत जोड्दा गठबन्धन केही मतले अघि देखिन्छ ।

स्थानीय निर्वाचनमा एमालेका वडाध्यक्षका उम्मेदवारले कूल २९ हजार ८०५ मत प्राप्त गर्दा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २८ हजार ८४६ मत प्राप्त गरेका थिए । यसबाहेक माओवादी केन्द्रका वडाध्यक्षले २ हजार ४ सय र एकीकृत समाजवादीका वडाध्यक्षले ५ सय एक मत पाएका थिए । कूल १ लाख १ हजार ७१५ मतदाता रहेको यस क्षेत्रमा प्रदेशसभा (क) मा ५२ हजार ८६२ र प्रदेशसभा (ख) मा ४८ हजार ८५३ मतदाता छन् ।

यस निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १५ उम्मेदवार प्रतिस्पर्धामा रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । उनका अनुसार यस क्षेत्रको प्रदेशसभा सदस्यका लागि प्रदेशसभा (क) मा सात जना र (ख) मा छ जना चुनावी प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?