दिपक मनाङेको रक्सी प्रकरण विवादमा, आयोगले सोध्यो स्पष्टीकरण

लोकपथ
224
Shares

काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री एवं गण्डकी प्रदेश सभा सदस्यका लागि मनाङ ‘ख’ उम्मेदवार रहेका राजिव गुरुङ उर्फ दिपक मनाङेलाई स्पष्टीकरण सोधेको छ ।

उम्मेदवार गुरुङले निर्वाचन खर्चका सम्बन्धमा ‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाख भन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ‘‘३० लाखमा नेपालमा चुनाव जित्छ यार‘‘मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ’ भनी दिएको अभिव्यक्ति र श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएकाले स्पष्टीकरण सोधिएको हो ।

आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ बमोजिम मंसिर ४ हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि राजनीतिक दल तथा उम्मेदवारको लागि कायम गरिएको खर्चको सीमा मिति २०७९ असोज ३१ गतेको नेपाल राजपत्रमा प्रकाशन गरिसकेको छ ।

आयोगले गुरुङले उम्मेदवारी दिएको मनाङ प्रदेश सभा क्षेत्र नं। ‘ख’ को लागि तोकेको खर्चको सीमा २३ लाख रहेको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १६, निर्वाचन खर्च सम्बन्धी आचरणको खण्ड (क) मा ‘उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा निर्वाचनमा आफूले खर्च गर्ने अनुमानित रकम र सोको स्रोत समेत खुलाउनु पर्ने’, सोही दफाको खण्ड (ख) मा ‘उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैङ्क तथा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्ने र खण्ड (ङ) मा ‘राजनीतिक दलले निर्वाचन सम्बन्धी खर्च गर्दा बंैक तथा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा सो खाताबाट खर्च गर्नुपर्ने, सोही दफाको खण्ड (ज) मा ‘खण्ड (ख) र खण्ड (ङ) बमोजिमको खर्चको विवरण तथा बिल भरपाई राख्नु पर्ने साथै दफाको खण्ड (झ) मा ‘आम्दानी तथा खर्चको विवरण प्रचलित कानून बमोजिम आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालय वा आयोगमा बुझाउनु पर्ने, तथा दफाको खण्ड (ट) मा ‘निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी प्रचलित निर्वाचन सम्बन्धी कानूनले तोकेको अवधिभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने’ व्यवस्था छ ।

स्पष्टीकरणमा भनिएको छ–‘तपाईंले दिएको अभिव्यक्तिले निर्वाचनको स्वच्छता र निष्पक्षतामा समेत प्रश्न उठाउनुका साथै तपाईंले मनोनयन गर्दाको एक दिनमात्रै रक्सी खुवाउँदा १५ लाख खर्च लाग्ने भनी स्वीकार गरेबाट निर्वाचन आचारसंहिता विपरितका क्रियाकलापलाई इंगित गरेको देखिन्छ ।’

सो अभिव्यक्ति प्रचलित निर्वाचन सम्बन्धी कानून र निर्वाचन आचारसंहिताको प्रतिकूल हुने देखिएकोले पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय मनाङमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?