‘पीपीएल’ क्रिकेट : चितवन राइनोजको पहिलो जीत, धनगढी ब्लुज १ सय २६ रनले पराजित

पोखरा । जारी पोखरा प्रिमियर लिग ‘पीपीएल’ क्रिकेटमा चितवन राइनोजले पहिलो जीत हात पारेको छ । 

पोखरा रंगशालामा बुधवार भएको पहिलो खेलमा कप्तान पारस खड्काले टिमले धनगढी  ब्लुजलाई १ सय २६ रनको भारी अन्तरले पराजित गर्दै लिगमा पहिलो जित निकालेको हो ।

१ सय ९४ रनको लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको धनगढीको पारी १७ ओभरमा मात्र ६७ रनमा समेटिएको थियो । चितवनका स्पिनर सन्नी पटेलले ३ दशमलब २ ओभरमा ८ रन खर्चेर ४ विकेट लिन सफल भए ।

पहिलो ओभरको चौंथो बलमै ओपनर ब्याट्सम्यान दीलिपनाथ शुन्यमा पेभेलियनमा फर्किए । त्यस्तै ड्यानियल लरेन्सले रनको खाता नै खोल्न सकेनन् । पिटर डभिड ट्रेगोले २७ रन, योगेन्द्र सिंह कार्कीले १७ रन, सौरभ खनाल र सन्दीप जोरा समान ८-८ रन जोडे । 

चितवनका भुवन कार्की र स्मिथ पटेलले समान २-२ विकेट तथा करण केसी र शक्ति गौचनले १-१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको चितवनले राइनोजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९३ को योगफल तयार पारेको थियो । चितवनका लागि हरी शंकर साहले अर्धशतकिय पारी खेले । उनले ५३ रन जोड्दै पेभेलियनमा फर्किए ।  

हरि र अनिलकुमार शाहले पहिलो विकेटका लागि १ सय १ रनको साझेदारी गरेका थिए । अनिल ३७ रन बनाएर आउट भएका थिए । 

स्मित पटेलले २४ रन, कप्तान पारस खड्काले १९ रन, सन्नी पटेल २६ रन तथा करण केसीले अविजित ११ रन जोडेका थिए । 

धनगढी ब्लुजका दिपेन्द्र सिंह ऐरी, डान लरेन्स, योगेन्द्र सिंह कार्की र मन्जित श्रेष्ठले समान एक-एक विकेट लिएका थिए । जितपछि चितवनले महत्वपूर्ण २ अंक बट्लेको छ । यसअघि चितवन पहिलो खेलमा बुटवल ब्लास्टर्ससँग ७० रनले तथा दोस्रो खेलमा पोखरा पल्टनसँग ५ विकेटले पराजित भएको थियो ।

यो जितपछि चितवनले प्ले अफमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । यता, तीन खेलबाट दोस्रो हार बेहोरेपछि धनगढीको प्ले अफ पुग्ने सम्भावना पनि उतिकै रहेको छ । बुधवार नै हुने अर्को खेलमा बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्स आमने-सामने हुँदैछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?