लमजुङ । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि उम्मेदवारी दिएका लमजुङका दुई उम्मेदवारले उम्मेदवारी स्थगित गरेको बताएका छन् । प्रतिनिधि सभाका उमेद्वारद्वय नेपाली कांग्रेस (बिपी) का डा.लक्ष्मीकान्त पौडेल र जनता समाजवादी पार्टी (जसपा) का नरेन्द्र गुरूङले उम्मेदवारी स्थगित गरेर सत्ता गठबन्धनका उम्मेदवार गुरुङलाई समर्थन गरेका हुन् ।
लमजुङबाट एक स्वतन्त्र सहित १० जनाले उम्मेदवारी दिएका थिए । अब ८ उम्मेदवारबीच मात्रै प्रतिस्पर्धा हुने भएको छ । जसमा सत्ता गठबन्धनबाट गुरुङ र एमालेका पृथ्वीसुब्वा गुरुङबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
उनीहरुबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका राजेन्द्रप्रसाद प्रजापति, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेपालका टेकबहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेसनका विकास गुरुङ्ग, आमूल परिवर्तन मसिहा पार्टी नेपालका नन्दजङ गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी र स्वतन्त्र उम्मेदवार चन्दन बस्यालले उम्मेदवारी दिएका छन् ।