बेलकोटगढीका १३८ जना स्वतन्त्र युवाहरुको समर्थन गठबन्धनलाई

लोकपथ
5.2k
Shares

काठमाडौं । नुवाकोटको बेलकोटगढीका १३८ जना स्वतन्त्र युवाहरुले गठबन्धनलाई समर्थन गर्ने भएका छन् । गत स्थानीय निर्वाचनमा बेलकोटगढी–१३ को वडाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार सोमबहादुर लामासहितले आगामी निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको संयुक्त गठबन्धनलाई समर्थन गर्ने प्रतिवद्धता जनाएको हुन् ।

वर्तमान अवस्थामा नुवाकोट क्षेत्र नम्वर २ को वास्तविक प्रतिनिधित्व संयुक्त गठबन्धनले मात्र गर्नसक्ने भएकाले आफूहरुले गठबन्धनलाई समर्थन जनाएको उनीहरुको भनाइ छ ।

आइतबार मदानपुरको बाराहीमा आयोजित कार्यक्रममा लामाले यस क्षेत्रमा रहेका आदिवासी जनजातीको अत्याधिक समर्थन गठबन्धनको पक्षमा रहने र समग्र जिल्लामा आफ्नो समूह गठबन्धन जिताउन क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गरे ।

यसरी समर्थन जनाउनेहरुमा बेलकोटगढी १३ का मतदाता रहि राजधानी काठमाडौं र जिल्लाका विभिन्न व्यावसायिक गतिविधिमा संलग्न तामाङ युवा व्यवसायीहरुको संख्या बढी रहेको छ ।

गत स्थानीय निर्वाचनमा ७०३ मत ल्याएर नेपाली काँग्रेसका उम्मेदवार विजयी भएको बेलकोटगढी–१३ मा निकटतम प्रतिद्वन्दीका रुपमा माओवादी केन्द्रका उम्मेदवारले ४१७, एमालेका उम्मेदवारले ३९४ र स्वतन्त्र उम्मेदवार लामाले २३८ मत ल्याएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं नुवाकोट–२ का उम्मेदवार अर्जुननरसिंह केसीले नागरिकका अधिकारको रक्षा र मुलुकको दिगो विकासका लागि गठबन्धनका उम्मेदवारहरुले जित्नुपर्ने बताए । ‘नागरिकका संविधान प्रदत्त अधिकार कुण्ठित गर्ने प्रयास केपी ओलीको नेतृत्वको सरकारले गर्यो,’ उनले भने, ‘संविधानको रक्षाका लागि संयुक्त गठबन्धन निर्माण भएकाले सबैजना एकजुट भएर गठबन्धनका उम्मेदवारहरुलाई जिताउन लागौँ ।’

गठबन्धनका बारेमा भ्रम छर्ने प्रयास भइरहेका बेला बेलकोटगढी–१३ का युवाहरुको समर्थनले मंसिर ४ सम्म सबै मतदाता भ्रमबाट मुक्त भइसक्ने र गठबन्धनको जित सुनिश्चित हुने केसीले बताए ।

त्यस्तै, कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं नुवाकोट–१ का उम्मेदवार हितबहादुर तामाङले आसन्न निर्वाचन संविधान पक्षधर र संविधान विरोधीहरुको बिचको लडाइँ भएको बताए । ‘नागरिकहरुलाई अनेक कोणबाट भड्काउने प्रयास भइरहेको छ,’ तामाङले भने, ‘अब गठबन्धनको विजयलाई कुनै पनि शक्तिले रोक्न सक्दैन ।’

त्यसैगरी, कार्यक्रममा माओवादी पोलिट्ब्यूरो सदस्य एवं प्रतिनिधिसभा समानुपातिक उम्मेदवार बिमला सुबेदी, संविधानसभा सदस्य जगदीश्वरनरसिंह केसी, नुवाकोट कांग्रेसका सभापति एवं निर्वाचन क्षेत्र नम्वर १ प्रदेश ‘ख’का उम्मेदवार रमेशकुमार महत, माओवादी नेता एवं निर्वाचन क्षेत्र नम्वर २ प्रदेश ‘क’ का उम्मेदवार रामप्रसाद ढुंगाना, स्थानीय काँग्रेस नेता रमेश पाण्डे लगायतले आसन्न निर्वाचन र निर्वाचनमा गठबन्धनको जितपछिको विकासको रणनीतिका बारेमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?